INSEC Online

📅 २०८३ जेष्ठ २१

उजुरी दर्ता नगरेको भन्दै प्रहरी कार्यालय अगाडि प्रदर्शन

IMG_20230705_164633रुपनी गाउँपालिका–२ पिपराहीकी २० वर्षीया सुनिता कुमारी रायको हत्या गरेका आरोपित उनका पति २५ वर्षीय नरेशकुमार राय, सासू ५२ वर्षीया रामकुमारी देवी रायलगायतविरुद्ध प्रहरीले उजुरी दर्ता नगरेको भन्दै मृतकका परिवारका सदस्य र गाउँलेहरूले असार २० गते साँझ जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

विष्णुपुर गाउँपालिका–६ गोरगमास्थित रायको माइती गाउँले र परिवारका सदस्यहरूले प्रहरी कार्यालय अगाडि नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन् । सामाजिक परम्परा अनुसार ५ महिना अघि मात्र विवाहिता सुनितालाई पति नरेश, सासू रामकुमारी, ससुरा ५५ वर्षीय रामनारायण राय, रुपनी गाउँपालिका–२ पिपराहीका ४५ वर्षीय बैजु भनिने बैजनाथ साह हलुवाई, सोही ठाउँका ३८ वर्षीय बिनोद साह हलुवाई र ४२ वर्षीय विश्वनाथ हलुवाईले हत्या गरेको भन्दै मृतकका बुबा परमेन्दर राय अमातले जिल्ला प्रहरी कार्यालयमा पटक पटक उजुरी दिएका छन् ।

सुनिता र नरेशबिच ०७९ माघ २३ गते विवाह भएको थियो । विवाह मण्डपमै दाइजोको निहुँ खोजी जन्ती फर्काउन खोज्दा बिष्णुपुर गाउँपालिका–६ का वडा अध्यक्ष परमानन्द यादव र स्थानीय प्रहरीले सम्झाई–बुझाई विवाह सम्पन्न भएको थियो । पीडितलाई माइत आउन नदिने, भेटघाट गर्न जाँदा धम्क्याउँदै कुटपिट गर्ने गरेको छोरीले बताउने गरेको परमेन्दरले बताउनु भयो ।

पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको शव हेर्दा शरिरमा चोटपटक, निलडाम, घाउँखत समेत रहेकोले कुटपिट गरी पासो लगाईएको परमानन्दले दावी गरेका छन् । रुपनी गाउँपालिका–२ पिपराहीस्थित घरमा असार १३ गते राति पासो लगाएको अवस्थामा सुनिताको शव भेटिएको थियो ।

घटनाको एक साता भएपनि प्रहरीले उजुरी दर्ता नगरेको र आरोपितहरूलाई गिरफ्तार नगरेको परमेन्दर रायको गुनासो छ । इन्स्पेक्टर राजिव गिरीले घटनाको अनुसन्धान भइरहेको र पोष्टमार्टम प्रतिवेदन आइ नसकेकोले कारवाही प्रक्रिया अगाडि बढ्न नसकेको बताउनु भयो ।

अन्य

भिडियो