INSEC Online

📅 २०८३ जेष्ठ २१

मनसुन सुरु भएसँगै नारायणगढ-मुग्लिन सडक अवरुद्धः यात्रुहरू गन्तव्यमा पुग्नै समस्या

यस वर्षको मनसुन सुरु भएसँगै नारायणगढ-मुग्लिन सडकमा दुई हप्तादेखि निरन्तर आएको पहिरोले यात्रुहरू समस्यै समस्यामा परेका छन् ।

नारायणगढ-मुग्लिन सडकको तुइन खोला नजिकको पहिरोका कारण यो सडक खण्ड भएर  सङ्घीय राजधानी काठमाडौँ र देशका अन्य भागमा आउजाउ गर्ने यात्रुहरू समस्यामा परेका हुन् ।

Photo_080-3-20_Chitwan

यस सडक खण्डमा यात्रुहरूले सास्ती खेप्दै आएको नारायणगढ-मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीले बताउनु भयो । अन्य समयमा उक्त सडक खण्डमा सामान्य सास्ती खेपेको भए पनि वर्षायामको समयमा भने ठूलै समस्या भोग्न समेत बाध्य रहेको प्रमुख कार्कीले जानकारी दिनुभयो ।

नारायणगढ-मुग्लिन सडक खण्डमा वर्षायाम सुरु भएयता बारम्बार पहिरो गएर कहिले सडक एकतर्फी त कहिले बन्द नै गर्नुपरेको चितवन ट्राफिक कार्यालयका प्रमुख राजकुमार तामाङले बताउनु भयो ।

वातावरणी प्रभाव र मूल्याङ्कन गरिए पनि समयमा काम सम्पन्न नहुँदा थप विनास र विपत्ति निम्तिएको छ भने दैनिक जनजीविकाको सवालमा समेत असर पुग्दै आएको छ ।

यसलाई समयमै सम्बोधन गर्न नसक्ने हो भने सर्वसाधरण यात्रु मात्र हैन मनसुनका आगामी तीन महिनामा सङ्घीय राजधानीका जनताले समेत यसको असर व्यहोर्नु पर्ने अवस्था देखिएको जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारीले बताउनु भयो ।

काठमाडौँ तथा पोखराबाट देशका अन्य भूभाग तथा देशका अन्य भूभागबाट सङ्घीय राजधानी काठमाडौँ तथा पोखरा यात्रा गर्ने यात्रु घण्टौँ जाममा पर्दा चिउरा र चाउचाउ खाएर भोक मेटिरहेका छन् । स्थानीय होटलहरू महँगी भएको कारण चिउरा र चाउचाउ खानुपरेको ट्राफिक कार्यालयका प्रमुख तामाङले जानकारी दिनुभयो ।

निरन्तर आएको वर्षाको कारण नारायणगढ-मुग्लिन सडकको तुइन खोला नजिक पहिरोले बाटो बन्द भएपछि बिरामी बोकेको एम्बुलेन्सहरू घण्टौँसम्म जाममा पर्दा महिला, बालबालिका र ज्येष्ठ नागरिक यात्रीलाई थप समस्या परेको प्रमुख तामाङले बताउनु भयो ।

जाममा गाडी रोकिँदा कसैको परीक्षा छुटिरहेको छ भने कसैको विदेश जाने फ्लाइट । बिरामीहरू सडकमै रोकिएका बसमा औषधि अभावले समस्यामा परेका छन् ।

मुग्लिनदेखि साढे दुई किलोमिटर नारायणगढतर्फ सडक माथिबाट ठूलो ढुङ्गै ढुङ्गाको पहिरो झर्ने क्रम निरन्तर रहेका कारण समस्या हुने गरेको नारायणगढ-मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीले बताउनु भयो ।

गत हप्ता परेको पानीको कारण क्रमश १७/१८ घण्टा सडक जाम भइसकेको छ । चितवन ट्राफिक कार्यालयका प्रमुख तामाङका अनुसार पानी पर्दा र नपर्दा पनि माथिल्लो भागबाट ढुङ्गासहितको लेदो पहिरोको जोखिम रहेको छ । मुग्लिनतर्फबाट दुई र नारायणगढतर्फबाट दुई गरी चार ओटा डोजर तयारी अवस्थामा छन् । जाममा परेका सवारी साधनका कारण यात्रा कष्टकर हुने गरेको छ भने बाटो क्लियर गर्न पनि थप समय लाग्ने गरेको छ ।

मनसुन सुरुभए यता उक्त सडकको २० स्थानमा पहिरो नियन्त्रणको काम भइसकेको र नयाँ नयाँ स्थानमा पहिरो जाँदा समस्या भएको आयोजना प्रमुख कार्कीले बताउनु भयो ।

Photo_080-3-20_Chitwan1

अन्य

भिडियो