INSEC Online

📅 २०८३ जेष्ठ २१

पुनर्स्थापनाको अभावमा बाढीपहिरो पीडितहरु जङ्गलभित्रै कष्टकर जिवन जिउन बाध्य

आलिताल गाउँपालिका–७ बलौचा गाउँमा २०७७ सालमा आएको बाढीपहिरोबाट पीडित भएका १२ घरपरिवारको पुनर्स्थापना हुन नसकेपछि उनीहरु अढाई वर्षदेखि जङ्गल भित्र बनाइएका टेन्ट मुनि कष्टकर जिवन जिउन बाध्य भएका छन् ।

बाढीपहिरोले घरखेत बगाएपछि दुई वर्षदेखि परिवारसहित जङ्गलभित्र टेण्ट मुनि कष्टपूर्ण जिवन बिताउनु परेको आलिताल गाउँपालिका–७ बलौचाका पीडित मेक्खु बोहराले गुनासो गर्नु भयो ।

photo20230705dadeldhura (5)

उहाँले भन्नु भयो– ‘जब पानी पर्न थाल्छ अनि मन पिरलो पर्न थाल्छ। तीन पटक घर बनाए। तर, तीनै पटकबाढीपहिरोले बगायो। अहिले चुहिने टेण्ट मुनि बस्नु परेको छ। अहिलेसम्म सरकारले पुर्नस्र्थापना गरेको छैन् ।’

पहिरोका कारण घर चर्किएको घरमा बस्नु सक्ने अवस्था नभएको र जग्गा जमिन सबै पहिरोले लगिसकेपछि जङ्गलमै टेण्ट लगाएर बस्दै आएको स्थानीय परुली बोहाराले दुखेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो, ‘घर रहेको जमिन पनि पूरै भासिएको छ भने घर चर्किएको छ ।गत वर्ष जङ्गलमै गाईगोरु बाँधेका थियौँ । घरमा रहेको बाख्रा, कुखुराको खोर समेत पहिरोले बगायो । गाईगोरू कहाँ लैजाने, बालबच्चा कहाँ राख्ने पिर परेको छ ।’

photo20230705dadeldhura (1)

०७७ सालमा पहिरोले गाउँमाथि र तलको डाडो पुरै भासिएपछि भूगर्व बिद्धको टोलीले अध्ययन गरी बस्ती नै स्थानान्तरण गर्न सुझाव दिएको थियो । तर, बस्ती कहीँ कतै पनि स्थानान्तरण हुन नसक्दा यहाँका नागरिक समस्यामा छन् ।

पहिरो गएको वर्ष कात्तिक महिनामा जिल्ला प्राकृतिक प्रकोप समितिले केही नगद रकम, त्रिपाल र खाद्यन्न उपलब्ध गराई राहात दिएको स्थानीय देवुदेवी साउँदले बताउनु भयो । एक गैरसरकारी संस्थाले १२ परिवारलाई टेण्ट उपलब्ध गराएपछि आफूहरू नजिकैको जङ्गलमा बास बस्न थालेको उहाँको भनाइ छ ।

photo20230705dadeldhura (4)

उहाँले भन्नु भयो– ‘गत वर्ष टेण्ट भित्रै बस्यौँ । भएका टेण्ट पनि फाट्न थालिसके । पानी पर्दा टेण्ट चुहिन थालेका छन् । यस वर्ष कसरी बिताउने भन्ने चिन्ता छ । पुनर्स्थापनाका लागि गाउँपालिकालाई अनुरोध र दवाव पनि दिएयौँ । सुनवाइ नभएपछि प्रदेश र संघीय सरकारसँग पनि हारगुहार गरिरहेका छौँ ।’

‘पहिले गाउँ नजिक पानीको मूल थियो । दुई महिना मात्रै गाउँ मूनी रहेको धारा धाउनु पथ्र्याे,’ स्थानीय दिपकबहादुर बोहराले भन्नु भयो, ‘पहिरो गएपछि अहिले बाह्रै महिना खानेपानीका लागि गाउँ मूनीको धारा धाउनु पर्ने बाध्यता छ ।’

photo20230705dadeldhura (7)

पानीको अभावले गर्दा हाल खान, गाईवस्तुलाई खुवाउन, नुहाउन, लुगाधुन समस्या भएको र पानीका लागि लाइनमा बस्नुपर्ने बाध्यता रहेको उहाँले बताउनु भयो ।

बाढीपहिरोका कारण सबैभन्दा बढी गर्भवती, ज्येष्ठ नागरिक र बालबालिका समस्यामा परिरहेको स्थानीय खडक बोहराले बताउनु भयो ।

‘गर्भवती, ज्येष्ठ नागरिक र बालबालिका राम्रोसँग बस्न सकिरहेका छैनन् । पानी परेको दिन सुत्नै मिल्दैन् । रातभर जाग्रम बस्नुपर्छ,’ उहाँले भन्नु भयो, ‘उहाँहरूलाई कति समस्या हुदो हो हामी कल्पना नै गर्न सक्दैनौँ ।’

photo20230705dadeldhura (12)

बालबालिकालाई वर्षातको समयमा विद्यालय पठाउन समस्या हुने गरेको खगेन्द्र बोहरा बताउनु हुन्छ। उहाँ भन्नुहुन्छ, ‘स्कुल जाने बाच्चहरू छन्। पहिरोले कतिबेला बगाउँछ भनेर उनीहरूको हेरबिचार गरेर बस्नु परेको छ ।’

पहिरोको जोखिम रहेकाले रोजगारीका लागि समेत घर छोडेर बाहिर जान नसकेको उहाँको दुखेसो छ । बाढीपहिरोबाट पीडित भएर अधिकांशले गाउँ नै छोडेर अन्यत्र पलायन भइसकेको उहाँको भनाइ छ ।

बलौचा गाउँका बाढीपीडितहरुको समस्या समाधानका लागि प्रदेश र संघीय सरकारसँग पटकपटक पहल गरिएको भए पनि समाधान हुन नसकेको गाउँपालिकाका अध्यक्ष शेरसिंह पार्कीले बताउनु भयो ।

उहाँले बाढीपहिरोको समस्या आलिताल गाउँपालिकाका सबै वडामा रहेकोले गर्दा गाउँपालिकाको बजेटले मात्रै समस्या समाधान नहुने भएकोले प्रदेश र संघीय सरकारलाई दिर्धकालिन व्यवस्थापनका लागि अनुरोध गरिएको बताउनु भयो ।

photo20230705dadeldhura (17)

 

अन्य

भिडियो