INSEC Online

📅 २०८३ जेष्ठ २१

अचारसंहिता पालना गराउन प्रतिबद्ध छौः सरोकारवाला

जिल्लामा निर्वाचन सम्पन्न गराउने सम्बन्धित निकायहरूले असार १४ गते हुने स्थानीय निकायको निर्वाचनमा आचारसंहिता पूर्ण कार्यान्वयन गराउन आफूहरू प्रतिबद्ध रहेको जनाएका छन् ।

मुख्य निर्वाचन अधिकृत केशवप्रसाद बास्तोलाले भने-‘हामीले स्थानीय तहको निर्वाचनमा आचारसंहिता पूर्ण कार्यान्वयन गराउने पक्षमा छौँ । जिल्लास्थित राजनीतिक दल र तिनका उम्मेदवारहरूलाई पटकपटक सचेत गराएका छौँ । कुनैकुनै ठाउँबाट आचारसंहिता उल्लङ्घन भएको भनी मौखिक उजुरी आएको आधारमा सो ठाउँमा पुगेर छानबिन गरेका छौँ ।’ सबै पक्ष आचारसंहिता पालनाका लागि प्रतिबद्ध रहको उनले जानकरी दिए ।

प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोख्रलले निर्वाचनलाई केन्द्रीत गरेर सुरक्षादेखि सम्पूर्ण तयारी पुरा भइसकेको बताए । आचारसंहिताको पालना गराउने पक्षमा कडाइ गरिराखेको र आचारसंहिता उल्लङ्घन नगर्न उम्मेदवारलाई पटकपटक आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताए ।

आचारसंहिता अनुगमन गर्ने निकाय जिल्ला आचारसंहिता अनुगमन समितिका संयोजक तथा अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीले आचारसंहिता विपरीत काम भएको भन्ने सूचना पाएपछि सो ठाउँमा पुगेर छानबिन समेत गर्ने गरिएको बताए । उनले केही ठाउँमा आचारसंहिता पालना नभएको पाइएपछि ति सामग्री बरामदसमेत गरिएको जानकारी दिए ।

जिल्ला निर्वाचन अधिकारी महेश पाण्डेले आचारसंहिताको पालन गराउने सन्दर्भमा निर्वाचन गराउने सबै पक्ष जिम्मेवार रहेको बताए । ‘निर्वाचन गराउने सबै निकायको समयसमयमा बैठक बसेको छ ।  राजनीतिक दलहरू पनि यसमा सचेत छन् ।’-पाण्डेले भने । जिल्लामा सामान्य बाहेक आचारसंहिता विपरीत गम्भीर क्रियाकलाप नभएको निर्वाचन अधिकारी पाण्डेले जानकारी दिए ।

अन्य

भिडियो