INSEC Online

📅 २०८३ जेष्ठ २१

जातीय विभेद गरी घर निकाला गरेकाे घटनाका आरोपित गिरफ्तार

दलित भएका कारण घर निकाला गरेको आरोपमा प्रहरीले घोराही उपमनपा–१७ का ६८ वर्षीय ताराप्रसाद पोख्रेललाई असार १७ गते गिरफ्तार गरेको छ ।

आरोपितले हुम्ला जिल्ला अदानचुली गाउँपालिका–३ का २३ वर्षीय अंगराज परियार, अछाम जिल्ला पञ्चदेवल नपा–७ घर भइ हाल दाङको घोराही उपमनपा–१७ बस्दै आएका २३ वर्षीय महेन्द्र बिक र उनकी पत्नी २३ वर्षीय शान्ति बिकलाई जातीय विभेद गरी घरबाट निकालेको भन्दै पीडितहरूले असार १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

दाङको कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा अध्ययनरत तीनैजना ६ महिना देखि पोख्रेलको घरमा भाडामा बस्दै आउनु भएको थियो । असार १४ गते तिमीहरू दलित रहेछौ, मैले दलितलाई  घर भित्र पस्न दिएको थिएन । तिमीहरूका कारणले म बिरामी भए भन्दै कोठाको समान निकालेर फालिदिएपछि पीडितहरूले प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा  आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजनराज गौतमले जानकारी दिनुभयो ।

जातीय विभेदको घटनाको विरोध गर्दै दलित पत्रकार संघ, दाङलगायत विभिन्न संघ संस्थाहरूले दोषीमाथि कारबाहीको माग गरेका छन ।

अन्य

भिडियो