INSEC Online

📅 २०८३ जेष्ठ २१

बेपत्ता घटनामा आयोगको सिफारिस कार्यान्वयन नहुँदा पीडितलाई थप पीडा

तातोपानी स्थित सिमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी बलले बेपत्ता बनाएका साविक हगाम गाविस-७ का हाल जुगल गाउँपालिका-६ का २० वर्षीय कुमार तामाङको अवस्था सार्वजनिक गरी घटनामा संलग्न दोषीहरूलाई कानुन बमोजिम कारवाही गर्न राष्ट्रिय मानव अधिकार आयोगले सिफारिस गरे पनि कार्यान्वयन नहुँदा पीडितलाई थप पीडा थपिएको छ ।

बेपत्ता हुनुअघि कुमार तामाङ र उहाँकी पत्नी डोल्मा तातोपानी बजारमा भारी बोक्ने काम गरेर बस्नुभएको थियो । आफ्नै कोठामा बसिरहेका बेला ०७१ चैत ११ गते बेलुका तातोपानी स्थित सशस्त्र प्रहरी बलको टोलीले कुमार तामाङलाई गिरफ्तार गरी लगेका थिए ।

त्यतिबेला उहाँलाई खाना पकाउने ग्याँसको सिलिण्डर चीनको खासातर्फ पैठारी गरेको आरोप लगाएको थियो । घटना हुँदा डोल्माकी दुई वर्षीया छोरी पनि थियो ।

बेपत्ता पतिको खोजीका लागि सहयोग गरिदिन भनि डोल्मा तामाङले ०७२ कात्तिक २२ गते राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिनुभएको थियो । पीडित डोल्माको उजुरी आयोगले छानविन गरी ०७४ चैत १४ गते निस्कर्षमा पुगेर पीडितको पक्षमा सिफारिस गर्‍यो ।

‘आयोगको अनुसन्धन क्रममा निज राजकुमार तामाङ अज्ञात भएको सम्बन्धमा नेपाल सरकार गृह मन्त्रालयद्वारा उच्चस्तरीय छानविन समिति गठन गरेको छ । उक्त छानविन समितिको प्रतिवेदनले निज राजकुमार तामाङको अवस्था शसस्त्र प्रहरीले गिरफ्तार गरे पश्चात अज्ञात भएको निस्कर्ष निकालेको देखिन्छ । प्रस्तुत घटनामा सशस्त्र प्रहरीकै लापरवाहीबाट आफ्नो नियन्त्रणमा रहेको व्यक्ति बेपत्ता भएको पाइएकोले निजको खोजतलास गरी घटनामा संलग्न देखिएका प्रहरी कर्मचारीहरूलाई कानुन बमोजिम कारवाही गर्न तथा पीडित परिवारको भरण पोषणको लागि तीन लाख रुपियाँ राहत उपलब्ध गराउन तथा निजका बालबालिकालाई निशुल्क शिक्षाको व्यवस्था गर्न नेपाल सरकारलाई सिफारिस गर्ने’ भनि राष्ट्रिय मानव अधिकार आयोगद्वारा प्रकाशित गरिएको आयोगका सिफारिस र कार्यान्वय अवस्था प्रतिवेदनको पेज नं. ५४४ र क्रम सङ्ख्या ८९३ मा समेत उल्लेख छ ।

बेपत्ता व्यक्तिको खोजी गरी अवस्था पत्ता लगाउनु, राहत उपलब्ध गराउनु र बालबालिकालाई निशुल्क शिक्षाको व्यवस्था मिलाउन सरकारलाई आयोगले सिफारिस गरिएको भए पनि हालसम्म अवस्था सर्वजनिक नहुँदा, पीडितलाई राहत तथा भरण पोषण साथै निशुल्क शिक्षाको व्यवस्था नहुँदा आफू थप पीडामा परेको पीडितकी पत्नी डोल्मा तामाङले बताउनु भयो ।

पतिलाई बेपत्ता बनाएपछि डोल्माकी आमाछोरी घरमा बस्न सक्नुभएन । उहाँहरू घरबाट विस्थापित हुनुभएको छ । घरपरिवार र गाउँलेहरूको नराम्रो व्यवहारका कारण डोल्माकी आमाछोरी घरमा बस्न नसकेर ०७३ वैशाखदेखि भोटेकोशी गाउँपालिका-१ स्थित माइतीघरमा बस्दै आउनुभएको छ ।

पतिलाई बेपत्ता बनाएपछि १३ महिनासम्म घरमा बस्दा घरपरिवारले पतिको मृत्युको कारण त्यहीँ होस् भनेर आफूलाई आरोप लगाएर हिंसा भएपछि घरमा बस्न नसकेको डोल्माले बताउनु भयो ।

सशस्त्र प्रहरीले गिरफ्तार गरी लगेका पतिलाई भेट्न डोल्मा तामाङ ०७१ चैत १३ गते तातोपानी स्थित सशस्त्र प्रहरीको कार्यालयमा जाँदा उहाँले पतिलाई भेट्न नपाएपछि बेपत्ता बनाएको त्यतिखेर नै उहाँले शङ्का गर्नुभएको थियो ।

राज्यका तर्फबाट बेपत्ता बनाएका आफन्तको अवस्था सार्वजनिक गराउन माग गर्दै पीडित पक्षले विभिन्न ठाउँमा जुलुस प्रर्दशन, धर्ना, सडक अवरुद्ध लगायत आन्दोलनका कार्यक्रम समेत गरेका थिए ।

पीडित पक्षको आन्दोलन मत्थर गर्न विभिन्न समयमा सरकारी निकाय, निर्वाचित जनप्रतिनिधि सभासद र पीडित पक्ष सहितको त्रिपक्ष बार्ता, छलफल भएको थियो । त्रिपक्ष बार्ता र छलफलमा सरकारी निकाय र जनप्रतिनिधिहरूले बेपत्ता भएका कुमार तामाङको अवस्था जसरी पनि सार्वजनिक गर्ने प्रतिबद्धता त्यतिखेर जनाएका थिए ।

बेपत्ता भएका कुमार तामाङको अवस्था पत्ता लगाउन जिल्ला स्तरमा तत्कालिन साहायक प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद उपाध्यायको संयोजकत्वमा छानविन समिति बनेको थियो ।

उक्त समितिले उल्लेखनीय काम गर्न नसकेपछि प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान महाशाखाका तत्कालिन डिआइजी नवराज सिलवालको संयोजकत्वमा उच्चस्तरीय छानविन समिति बिनेको थियो ।

सो समितिले आफ्नो प्रतिबेदन गृह मन्त्रालयमा बुझाएको भनिएको छ तर गृह मन्त्रालयमा बुझाइएको प्रतिबेदनमा उल्लेख भएको कुरा हालसम्म आफूलाई जानकारी नभएको पीडितका दाजु छिरिङ तामाङले बताउनु भयो ।

राज्यको तर्फबाट सीमा सुरक्षाको लागि खटिएका सशस्त्र प्रहरी बलबाट मजदुरी काम गरी बसेका सर्वसाधारण नागरिकलाई बेपत्ता बनाइएको घटनाको अवस्था सार्वजनिक नगराउनु, घटनाबाट उत्पन्न भएको अवस्थाले पीडितलाई थप पीडामा बस्न बाध्य बनाउनुले राज्यमा शान्ति सुरक्षको प्रत्याभूति नभएको मात्र होइन राष्ट्रिय मानव अधिकार आयोग जस्तो संवैधानिक निकायले गरेका निर्णयहरू समेत कार्यान्वय नभएको घटनाले नेपालमा पीडितले न्याय नपाउने अवस्था रहेको स्पष्ट भएको पीडित डोल्मा तामाङले बताउनु भयो ।

अन्य

भिडियो