INSEC Online

📅 २०८३ जेष्ठ २१

दुर्व्यवहार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

गोलञ्जोर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंभुप्रसाद पौडेललाई हातपात गर्नुका साथै दुर्व्यवहार गरेको आरोपमा गोलञ्जोर गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष दौलत कार्कीविरूद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० असार १५ गते उजुरी दर्ता भएको छ ।

कार्यपालिकाको बैठकमा वडा अध्यक्ष कार्कीले असार १४ गते आफूलाई घाँटी समाउँदै आक्रमण गरेपछि पौडेलले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको हो ।

बागमती प्रदेशले जारी गरेको ऐन अनुसार नीति तथा कार्यक्रम पारित गर्न तीन पटकसम्म गाउँसभा बस्दा गणपुरक सङ्ख्या नपुगेमा गाउँसभामा उपस्थित २५ प्रतिशतले नीति तथा कार्यक्रम पारित गर्ने प्रावधान रहेको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनु भयो ।

कानुनी प्रक्रियाका बारेमा आफूले गाउँसभालाई जानकारी गराउँदा नीति तथा कार्यक्रम पास गर्न सहयोग गरेको भन्दै वडाध्यक्षले आफूमाथि हातपात गरेको पौडेलले बताउनु भयो ।

दुर्व्यवहार गरेको आरोप उजुरी दर्ता गरेको र वडा अध्यक्ष कार्कीलाई गिरफ्तार गर्न पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिनुभयो ।

वडा अध्यक्ष कार्कीले प्रमुख प्रशासकीय अधिकृत पौडेलले प्रयोग गर्ने बा १ झ ४७१६ नम्बरको गाडीमा समेत तोडफोड गरेको डिएसपी दाहालले बताउनु भयो । उक्त तोडफोडबाट गाडीको सिसा र लुकिङ ग्लास फुटेको छ ।

अन्य

भिडियो