INSEC Online

📅 २०८३ जेष्ठ २१

कोशी प्रदेशमा जलवायु परिर्वतनको संशयः बाढीपहिरोमा परी दुई बालबालिकासहित १४ जनाको मृत्यु, राहत र उद्दार जारी

कोशी प्रदेशका पहाडी जिल्लामा मनसुनको सुरूआत हुने वित्तिकै भारी मात्रामा भएको वर्षालाई वातारण विज्ञ तथा मौसमविदहरूले जलवायु परिर्वतनको संशयका रूपमा लिएका छन् ।

कोशी प्रदेशका पहाडी जिल्लामा जलवायु परिवर्तनका कारण भारी मात्राका भएको वर्षापछि आएको बाढी र पहिरोका कारण ०८० असार २ गतेयता १४ जनाले ज्यान गुमाउनु परेको छ ।

मनसुनको सुरूआत हुने वित्तिकै सङ्खुवासभा, ताप्लेजुङ, भोजपुर, ओखलढुङ्गा र पाँचथरमा भारी वर्षापछि आएको बाढी र पहिरोका कारण १४ जनाले ज्यान गुमाउनु परेको हो ।

Photo 20230621 Pachathar

ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार असार ७ गते रातीको भारी वर्षापछि आएको बाढी र पहिरोका कारण चम्पादेवी गाउँपालिका–८ मा रहेको गुरुङ वस्तीका एक परिवारका चार जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर चम्पादेवी गाउँपालिका–८ का  ३८ वर्षीय रणबहादुर गुरुङ, उनकी २९ वर्षीया पत्नी शिवमाया गुरुङ, १८ महिनाको छोरी कविता गुरुङ र १० वर्षीय छोरा दिनेश गुरुङको मृत्यु भएको छ । पहिरोमा पुरिएका सबै लासलाई असार ८ गते निकालिएको छ । गुरूङ बस्तीमा गएको पहिरोले २५ ओटा भन्दा बढी घर बगाएको छ । पहिरोमा परी २० ओटा भन्दा बढी चौपायासमेत बगाएको चम्पादेवी गाउँपालिका–८ का वडाध्यक्ष खड्गबहादुर राउतले बताउनु भयो । बाढीपहिरो प्रभावितहरूको उद्दार र पुनस्थापनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित स्थानीय सक्रिय छन् ।

सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार यस वर्षको मनसुनको केन्द्र सङ्खुवासभाको, नुम बनेको छ । नुममा मापन गरिए अनुसार असार ५ गते २४ घण्टामा ३८७ दशमवल ४ मिलिलिटर वर्षा भएको छ । नुममा सबैभन्दा धेरै पानी परेको यो तेस्रो घटना हो । यसअघि नुममा सबैभन्दा बढी सन् २००१ अप्रिल २२ मा ३९४ दशमलव ५ मिलिलिटर पानी परेको थियो । नुममा सन् १९९७ जुन ११ मा ३८८ दशमलव ३ मिलिलिटर पानी परेको जल तथा मौसम विज्ञान विभाग धरान कार्यालयका प्राविधिक अधिकृत रामबाबु मिश्रले बताउनु भएको छ ।

जलवायु परिर्वतनको संशय-

वातावरण विज्ञ तथा मौसमविदहरूले मनसुन सुरूआत भएसँगै अधिक वर्षालाई जलवायु परिवर्तनको संशयका रूपमा लिएका छन् । मनसुन सुरूआत हुने वित्तिकै भारी मात्राको भएको वर्षाले जलवायु परिर्वतनलाई इङ्गित गरेको वातावरण विज्ञ तथा मौसमविदको भनाइ छ । जलवायु परिर्वतनका कारण मनसुनको सुरूआत हुने वित्तिकै पूर्वी पहाडमा अधिक मात्रामा भएको वर्षाले जलवायुको संशयलाई उजागर गरेको वातावरण विज्ञ भुषण तुलाधरले बताउनु भयो । वातावरण संरक्षणका विषयमा कानुन भएपनि तिनको कार्यान्वय नगरिने र विकासका पूर्वाधार निर्माण गर्नुअघि वातावरणीय प्रभाव मूल्याङ्कन राम्रोसँग नगरिँदा समस्या आएको वातावरण विज्ञ भुषण तुलाधरले बताउनु भयो । वातावरण विज्ञ तुलाधरले इन्सेककर्मीसँगको फोन सम्पर्कमा पूर्वी पहाडमा मनसुन सुरू हुनेवित्तिकै देखिएको धनजनको क्षतिलाई जलवायु परिवर्तनको संशयका रूपमा लिन सकिने बताउनु भएको छ । मनसुन सुरूआत हुनेवित्तिकै यति धेरै वर्षा किन भयो यसको, खोजी मौसमविद्हरूले गरिरहेका छन् । स्वभाविक हिसाबले मनसुन सुरू भएपछि हाइअल्टिटच्युटमा वर्षा हुने गर्दछ । त्यसबेला विशेष सतर्कता अपनाउन आवश्यक रहने मौसमविदहरूको भनाइ छ ।

मनसुन प्रवेश गर्ने नेपालको पूर्वी भागबाटै हो । प्रायः मनसुन प्रवेश गर्दा सुरूमा हाइ अल्टिच्युटमा ठूलो पानी पर्ने सम्भावना हुन्छ । त्यसमा पनि कोशी प्रदेशको नुम केन्द्र जस्तै बनेको छ । ‘यसबाट के शिक्षा लिनुपर्यो भने जब मनसुन सक्रिय हुन्छ त्यो बेला सङ्खुवासभा, पाँचथर, ताप्लेजुङ जिल्लामा चनाखो हुनुपर्ने आवश्यकता देखियो,’ मौसमविद् रामबाबु मिश्रले बताउनु भयो । मनसुन सुरू भएपछि ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा सबैभन्दा बढी ७१ दशमलव ६ मिलिलिटर पानी परेको छ । पाँचथरको फिदिममा १ सय मिलिलिटर हाराहारी पानी परेको छ ।

 यस वर्षको मनसुन असन्तुलित-

जल तथा मौसम विज्ञान विभाग धरान कार्यालयका प्राविधिक अधिकृत रामबाबु मिश्रले यस वर्षको मनसुन अरू मनसुन भन्दा आइसोलेटेड खालको रहेको बताउनु भयो । ‘यस भन्दा अगाडिको मनसुनमा महिनादिनसम्म पानी परीराख्ने, छिनछिनमै पानी परीराख्ने खालको हुन्थ्यो । यो वर्षको मनसुन आइसोलेटेड खालको छ,’ उहाँले भन्नुभयो ‘एकै ठाउँमा धेरै पानी पर्ने । १ घण्टामै धेरै पर्ने र अरू ठाउँमा सुख्खा हुने खालको वर्षा यस वर्ष छ । मिश्रले नेपालतिर आउने मनसुनको बाटोमा डिस्टर्ब भएपछि असन्तुलित जस्तो देखिएको बताउनु भयो । ‘अहिले प्राकृतिक लाइफ साइकल पनि असन्तुलित बनिरहेको छ । त्यसकारण अतिवृष्टि, अनावृष्टि र खण्डवृष्टि भएको छ ।

 प्रदेश सरकारको प्राथमिकता- राहत र उद्दार

कोशी प्रदेशका पूर्वी पहाडी जिल्लामा बाढीपहिरोका कारण ज्यान गुमाएका प्रतिव्यक्ति १ लाख र घाइतेहरूको उपचारका लागि कोशी प्रदेश सरकारले प्रतिव्यक्ति ५० हजार रुपियाँ घोषणा गरेको छ । ताप्लेजुङ, पाँचथर र सङ्खुवासभामा बाढीपहिरोमा परी ज्यान गुमाएका तथा घाइते भएकाहरूलाई प्रदेश सरकारले असार ७ गते रातह रकम पठाएको छ । असार ७ गतेको कोशी प्रदेश मन्त्री परिषद्को बैठकले सम्बन्धित जिल्ला प्रशासन कार्यालयले तोकेको कोष तथा लेखा नियन्त्रण कार्यालयलाई राहत रकम पठाएको मुख्यमन्त्रीका प्रेस संयोजक महेन्द्र विष्टले बताउनु भएको छ । प्रदेश सरकारले बाढीपहिरो प्रभावितहरुलाई राहत र उद्दारलाई प्राथमिकतामा राखेको कोशी प्रदेश मन्त्री परिषद्को कार्यालयले जनाएको छ ।

अन्य

भिडियो