१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा भजनी नगरपालिका–९ का ३३ वर्षीय तेजप्रसाद खनाललाई असार ७ गते जन्मकैद सजायको फैसला गरिएको छ ।
जिल्ला अदालत, कैलालीका न्यायाधीश डल्लुराम चौधरीको असार ७ गते बसेको इजलाशले कसुर ठहर गरी बलात्कार घटनाका आरोपित खनाललाई जन्मकैद सजायको फैसला सुनाएको जिल्ला अदालतका शाखा अधिकृत नवराज पाण्डेले बताउनु भयो ।
बालिकालाई ०७७ चैत २८ गते आरोपितले बलात्कार गरेको भन्दै पीडित पक्षले चैत २९ गते इलाका प्रहरी कार्यालय, भजनीमा उजुरी दिनु भएको थियो ।
प्रहरीले आरोपितलाई सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतमा जबरजस्तीकरणी अन्तर्गत मुद्दा दर्ता गरेकोमा जिल्ला अदालतले ०७८ वैशाख २४ गते दिएको आदेश अनुसार आरोपितलाई पुर्पक्षका लागि थुनामा राखिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण ०७७ चैत २९ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।