शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिले सञ्चालन गरेको अन्दोलनमा सहभागिभएकाहरुले ०८० असार ५ गते बाँके जिल्ला अदालतको ३०१००२ झ ५२०३ नम्बरको गाडी र सुदूपश्चिम प्रदेश बन निर्देशनालयको सु.प. २३०१००२ झ ५१९२ नम्बरको गाडीमा तोडफोड गरेका छन् ।
सरकारी गाडी सञ्चालनमा रोक लगाइएको अवस्थामा सरकारी गाडी सञ्चालन गरिएको भन्दै आन्दोलनकारीहरुले बाँके जिल्ला अदालतको ३०१००२ झ ५२०३ नम्बरको गाडी र सुदूपश्चिम प्रदेश वन निर्देशनालयको सु.प. २३०१००२ झ ५१९२ नम्बरको गाडीमा गोदावरी नगरपालिका–५ अत्तरीयामा असार ५ गते तोडफोड गरिएको ईलाका प्रहरी कार्यालयका डिएसपी गणेश बरालले बताउनु भयो ।
सरकारी गाडीमा तोडफोड गरी क्षति पुगाएपछि घटनामा संलग्न गोदावरी नगरपालिका–५ का ३२ वर्षीय दिपक बोहरा र सोही ठाउँका ३१ वर्षीय भेष बोहरालाई असार ५ गते गिरफ्तार गरी अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय, मालाखेतीका डिएसपी बरालले बताउनु भयो ।
संघीय सरकाले २०७९ माघ २९ गते शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको भएपनि ०८० जेठ १५ गते सरकारले जारी गरेको आर्थिक वर्ष ०८० / ०८१ को बजेटमा १ सय शैयाको अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने व्यवस्था गरेपछि त्यसको विरोधमा जेठ १६ गतेदखि आन्दोलन सुरु गरिएको संघर्ष समितिका संयोजक लोकराज पाण्डेले बताउनु भयो ।
उहाँले संघीय सरकारले सुदूरपश्चिम प्रदेशका नागरिकहरुको स्वास्थ्यप्रति खेलवाड गर्ने गरेको कारण सरकारलाई दवाव दिन शान्तिपूर्ण आन्दोलन भइरहेको अवस्थामा राज्यले प्रहरी परिचालन गरी आन्दोलनमा सहभागि भएकाहरुलाई गिरफ्तार गर्ने, कुटपिट गर्ने र आन्दोलनलाई कमजोर बनाउने प्रयास गरिरहेको भए पनि माग संवोधन नभएसम्म आन्दोलनका गतिविधिहरु नरोकिने बताउनु भयो ।
आन्दोलनमा सहभागि भएकाहरुलाई गिरफ्तार गरी कुटपिट समेत गरेको भन्दै संघर्ष समितिले असार ६ गते अत्तरिया बजारपूर्ण रुपमा बन्द गरेका छन् । गिरफ्तार गरिएका व्यक्तिहरुलाई नि:शर्त रिहा नगरेसम्म र शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना तथा सञ्चालनमा नआएसम्म आन्दोलन जारी रहेन संघर्ष समितिले जनाएको छ ।