INSEC Online

📅 २०८३ जेष्ठ २१

मुद्दा फिर्ता लिने सरकारको निर्णयविरूद्ध उपप्राध्यापक चलाउनेद्वारा सर्वोच्च अदालतमा रिट

आफूमाथि आक्रमण गर्नेहरूको मुद्दा जिल्ला अदालतबाट फिर्ता लिने सरकारको निर्णयविरूद्ध त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक प्रेम चलाउनेले सर्वोच्च अदालतमा ०८० असार ६ गते रिट दर्ता गर्नुभएको छ ।

मुद्दा फिर्ता लिने सरकारको निर्णय गैरकानुनी रहेको र अपराधीलाई संरक्षण गर्ने किसिमको भएको भन्दै ०८० जेठ ३० गते मन्त्रीपरिषदले गरेको मुद्दा फिर्ता लिने निर्णय बदर गर्न माग गर्दै चलाउनेले सर्वोच्च अदालतमा रिट दर्ता गर्नुभएको हो ।

उपप्राध्यापक चलाउनेले जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँले जिल्ला अदालतमा पेश गरेको मुद्दा फिर्ता लिने बारेको निवेदनको सुनुवाइ रोक्न अन्तरिम आदेश माग गर्नुभएको छ । सर्वोच्च अदालतले चलाउनेले दायर गरेको रिटमा सुनुवाइका लागि असार ७ गते पेशी तोकेको छ ।

त्रिवि समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेमाथि ०७७ असोज २० गते त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस परिसरमा नै साङ्घातिक आक्रमण भएको थियो । उक्त आक्रमणबाट चलाउनेको टाउकोमा चोट लाग्नुको साथै दायाँ खुट्टा भाँचिएको थियो ।

मन्त्रिपरिषदको ०८० जेठ ३ गते बसेको बैठकले आक्रमण घटनाका आरोपित नेविसङ्घका त्रिवि समिति अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावल लगायत सात जनाविरूद्ध काठमाडौँ जिल्ला अदालतमा चलिरहेको ज्यान मार्ने उद्योग कसुरको मुद्दा फिर्ता लिएको थियो ।

अन्य

भिडियो