INSEC Online

📅 २०८३ जेष्ठ २१

नागरिकता प्राप्तिको अधिकारबाट वञ्चित नगरः आयोग

व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने अधिकारका सबै पक्षसँग जोडिएको नागरिकता प्राप्त गर्ने एवम् व्यक्तिको पहिचानको विषयलाई संवेदनशीलरुपमा लिइ नागरिकता प्राप्त गर्ने अधिकारको सम्मान, संरक्षण र सुनिश्चित गर्न राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

जन्मसिद्ध नागरिकता भएका व्यक्तिका सन्तानलाई नेपाल सरकारले नागरिकताबाट वञ्चित गरेको भन्दै ०८० जेठ २२ गतेदेखि काठमाडौँको माइतीघर मण्डलामा धर्नामा रहेकाहरूको अवस्थाबारे स्थलगत अनुगमन गरेको असार ४ गते जारी विज्ञप्तिमा उल्लेख छ ।

अनुगमनको क्रममा १६ वर्षदेखि ३५ वर्षसम्मका नागरिकहरू धर्नामा बसेको पाइएको आयोगले जनाएको छ । यस उमेर समूहका नागरिकहरूले विशेषगरी अध्ययन, पेशा, व्यवसाय गरी जीवनयापन गर्ने समयमा नागरिकता नहुँदा उच्च शिक्षा अध्ययन गर्न नपाएको विज्ञप्तिमा उल्लेख छ ।

त्यसै गरी वैदेशिक रोजगारमा जान, नेपालमै रोजगारी तथा पेशा व्यवसाय गर्न नपाएको पाइएको आयोगले जनाएको छ ।

नागरिकता प्राप्तिको विषय उठान गरी धर्ना बस्ने क्रममा जेठ ३० गते आफ्नै शरीरमा पेट्रोल खन्याई आत्मदाह गर्ने प्रयास गरेका २५ वर्षीय निरज कामतको स्वास्थ्य अवस्थाका बारेमा आयोगले जानकारी लिएको जनाएको छ । साथै, नागरिकता प्राप्त गर्ने अधिकारको संरक्षणका लागि आयोगमा ज्ञापनपत्र समेत प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ ।

नागरिकताको विषय नागरिकको राष्ट्रियता, शिक्षा आर्जन गर्ने, पेशा र रोजगारी प्राप्त गर्ने, सम्पत्तिको अधिकार, सामाजिक न्यायलगायतका हरेक पक्षसँग जोडिएको आयोगले स्मरण गरेको छ ।

यसर्थ, नागरिकताको अभाव हुँदा व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने हकमा समेत असर पर्न जान्छ । मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा १५ ले प्रत्येक व्यक्तिलाई राष्ट्रियताको हक हुने उल्लेख गरेको आयोगले स्मरण गरेको छ ।

नेपालको संविधानको धारा १० मा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्तिको हकबाट वञ्चित गरिने छैन भन्ने उल्लेख गरिएको छ । उल्लेखित कानुनी प्रावधानका बाबजुद नागरिकता प्राप्तिको लागि धर्ना, आन्दोलन एवम् आत्मदाहको प्रयास गर्ने अवस्थाको सिर्जना हुनु लोकतान्त्रिक राज्यको लागि अत्यन्त दुखदायी स्थिति भएको आयोगका सहसचिव एवम् प्रवक्ता डाक्टर टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

अन्य

भिडियो