INSEC Online

📅 २०८३ जेष्ठ २१

पानी अभावले पञ्चेश्वर स्वास्थ्यचौकीको प्रसूती सेवा बन्द

आकासे पानीको भरमा सञ्चालन गरिदै आएको पञ्चेश्वर स्वास्थ्य चौकीमा पानी अभावका कारण प्रसूती सेवा बन्द भएको छ ।

पानी अभावका कारण हाललाई प्रसूती सेवा बन्द गर्नुपरेको स्वास्थ्यचौकी प्रमुख सुरेस सार्कीले बताउनु भयो ।

उहाँले भन्नु भयो ‘पानी अभाव छ । पटक–पटक पानीको व्यवस्थापनका लागि माग गर्दा समेत समस्या सम्बोधन हुन सकेको छैन् । पनी बोकेर ल्याउन पनि सम्भव नभएपछि सेवा बन्द गरेका छौँ ।’

स्वास्थ्यचौकीले एक सूचना जारी गर्दै संस्थाबाट प्रदान गर्दै आएको २४ घण्टे प्रसूती सेवा बन्द गरेको जनाएको छ । जम्मा गरिएको आकासे पानी सकिएपछि सेवा बन्द भएको प्रमुख सार्कीले बताउनु भयो ।

स्वास्थ्यचौकी हुँदै अर्को टोलमा पानी जाने गरेको भए पनि स्वास्थ्य चौकीलाई छुट्टै पानीको धारा नदिएको र पानीको व्यवस्थापनका लागि कसैले चासो नदिएको उहाँको गुनासो छ ।

प्रसूती सेवा बन्द हुँदा यहाँका महिलाहरुले पञ्चेश्वर गाउँपालिका–३ कुलाउँ जानुपर्ने बाध्यता बनेको छ ।

स्वास्थ्यचौकी जस्तो संवेदनशिल संस्थामा पानी अभावका कारणले प्रसूती सेवा नै बन्द हुनु दुखद भएको स्थानीय सागर घटालले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘पहिले नै स्वास्थ्यचौकीमा पानीको धारा जडान गर्नु पर्ने हो । तर, अहिलेसम्म गरिएको छैन् ।’

ट्यांकरबाट पानी ल्याएर समस्या समाधान गर्नु भन्दा पनि नजिकैको मुहानबाट खानेपानी योजना नै बनाएर स्वास्थ्यचौकीमा दिर्घकालिन पानीको समस्या समाधन गर्नु पर्ने स्थानीय केशवराज सार्कीको भनाइ छ ।

उहाँले भन्नु भयो– ‘गाउँपालिकाले बजेटको व्यवस्था गरेर समस्या समाधान गर्नु पर्छ । दिर्घकालिन रुपमा समस्या समाधान हुनु पर्‍यो ।’

स्वास्थ्यचौकीमा पानी अभावले प्रसूती सेवा प्रभावित भएको जानकारीमा आएको र तत्कालका लागि ट्यांकर नै खोजेर भए पनि स्वास्थ्य चौकीमा पानीको व्यवस्था गरिने गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताउनु भयो ।

अन्य

भिडियो