आफूमाथि आक्रमण गर्नेहरूको अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने मन्त्रीपरिषदको निर्णयविरूद्ध धर्ना दिन जिल्ला अदालत जानुभएको त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले ०८० असार ४ गते गिरफ्तार गरेको छ ।
नेविसङ्घका तत्कालिन त्रिवि समिति अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावल, रुपेश शाह, निरज लामा लगायत सात जनाले उपप्राध्यापक चलाउनेमाथि ०७७ असोज २० गते कुटपिट गरेका थिए ।
कुटपिटबाट घाइते हुनुभएका चलाउनेले दायर गरेको ज्यान मार्ने उद्योग कसुरको मुद्दा जिल्ला अदालतमा विचाराधीन रहेको अवस्थामा ०८० जेठ ३० गते बसेको मन्त्रीपरिषदको बैठकले फिर्ता लिने निर्णय गरेको थियो ।
मन्त्रीपरिषदको सोही निर्णयविरूद्ध उपप्राध्यापक चलाउने जिल्ला अदालतमा धर्नामा बस्न जानुभएको थियो । चलाउनेले दायर गरेको मुद्दाको असार ५ गते जिल्ला अदालतमा पेशी रहेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सिताराम रिजालले उपप्राध्यापक चलाउने जिल्ला अदालतमा नाराजुलुस गर्दै धर्ना बस्न लागेपछि प्रहरीको टोलीले उहाँलाई गिरफ्तार गरेको बताउनु भयो ।
उपप्राध्यापक चलाउनेलाई गिरफ्तार गरी प्रहरी वृत्त सिंहदरबारमा राखिएको एसपी रिजालले जानकारी दिनुभयो ।