INSEC Online

📅 २०८३ जेष्ठ २१

गाउँमा खानेपानीको हाहाकार

स्वस्थ खानेपानी नागरिकको संवैधानिक अधिकार हो । नेपालको संविधान, २०७२ मा मौलिक हकअन्तर्गत धारा ३५ को उपधारा ४ मा लेखिएको ‘प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ’ भन्ने कुरा संविधानमा नै सीमित भएको छ ।

जुम्लाको तातोपानी गाउँपालिका– १ बाँइराकामा दशकौँदेखि खानेपानीको पहुँच छैन । स्थानीय मीनबहादुर शाही पाँच दशकदेखि गाउँमा खानेपानी नभएको बताउनु हुन्छ । ‘पाँच दशकदेखि गाउँमा खानेपानी नहुँदा तिला नदीकै दूषित पानी पिउँदै आएका छौँ,’ उहाँले भन्नुभयो । यहाँका नागरिक पानी लिन तिला नदीमै पुग्ने गरेका थिए । अहिले गाउँमा लिफ्टमार्फत तिलाको पानी तानिएको छ । तर, त्यो न स्वच्छ छ, न पर्याप्त ।

‘बाबुबाजेले खोलाकै पानी खाए, हामीले पनि खायौँ,’ मीनबहादुरले भन्नुभयोे, ‘बाँइराकामा पानी पुर्याउने विषय चुनावी एजेन्डा मात्र बन्यो । हाम्रो दैनिकी फेरिएन । हरेक चुनावमा हुने पानीको राजनीतिले निकास दिन सकेन ।’ तर, पछिल्लो समय धौलीगाड आयोजना बन्ने कुराले भने थोरै भए पनि स्थानीय उत्साहित छन् ।

पानीले काकाकुल बाँइराकाका स्थानीयले वडाध्यक्षदेखि संघीय सांसदसम्मको आश्वासन पाए । तर, स्वच्छ पानी कहिल्यै पाएनन्। ‘धन्न हामी बाँचेका छौँं । रोग लागेको छैन,’ स्थानीय छुमकली सार्की भन्नुभयो, ‘२०६४ सालदेखि अहिलेसम्म वडाध्यक्षदेखि संघीय सांसदसम्मले बाइराँमा पानी पुर्याउने आश्वासन दिए । तर पानी आएन। जनसंख्या बढ्दै छ । पानीको स्रोत कतै छैन । तीनै तहका सरकार हाम्रा समस्याप्रति अनुदार देखिए । हाम्रो प्यासको कसैलाई मतलव छैन ।’

गाउँमा खानेपानी नहुँदा बाँइराका गाउँका झन्डै एक सय २० घरधुरी नै नदीको दूषित पानी पिउन बाध्य छन् । पानी पुर्याइदिने नाममा नेताले आफूहरूलाई भोटबैंकका रूपमा प्रयोग मात्रै गरेका अर्का स्थानीय बचन शाहीले बताउनु भयो । ‘गाउँमा पुगेको लिफ्टले प्रतिघरमा ४० लिटर मात्रै पानी भर्न मिल्छ । पर्याप्त खानेपानी, सरसफाइ गर्ने पानी छैन । तिलाकै दूषित पानी हाम्रो सहारा हो,’ उहाँले भन्नुभयो ।

काकाकुल गाउँको प्यास मेटाउन धौलीगाड आयोजनालाई सम्पन्न गर्नुको विकल्प नरहेको उहाँको भनाइ छ । धौलीगाड खानेपानी आयोजनाले सफा पानी पिउने दशकौँदेखिको सपना पूरा हुने आस पलाएको उहाँले बताउनु भयो । दोस्रो मेलम्ची बनेको आयोजना सम्पन्न गर्न सबैले सहयोग गर्नुपर्ने उहाँ बताउनु हुन्छ ।

यता, कनकासुन्दरी गाउँपालिका– ७ देयारपाटाका एक सय २० घरधुरीले पनि खानेपानीको चरम अभाव भोगिरहेका छन्। गाउँदेखि झन्डै तीन किलोमिटर टाढा पर्ने सिमदह र मथुरा मूलदेखि ल्याएको पानीका सातवटा धारा गाउँको पायक पर्ने ठाउँमा छन् । तर, यी धारामा बिहान–बेलुका एक घन्टा मात्रै पानी आउँछ । स्थानीय जीवन हमाल बताउनु हुन्छ, ‘धारामा पानी भर्नेहरूको निकै भिड लाग्ने गरेको छ । लिटरको आधारमा भरेर पानी खाने गरेका छौँ । पानी भर्न दिउँसो ४ बजेदेखि लाइनमा बसे पनि पानी भर्ने पालो मिल्दैन ।’ खेतबारीबाट काम गरी घर फर्केपछि पानीकै चिन्ता हुने गरेको हमालले बताउनु भयो ।

गाउँनजिकै कुलो, खोला, नदी पनि नभएको देयारपाटामा पानीको ठूलो समस्या देखिएको छ । खानेपानी अभावमा बिहान–बेलुका खाना कसरी पकाएर खाने हो भन्ने चिन्ताले पिरोल्ने स्थानीय तुल्छा जिसी बताउँछिन्। ‘पानी नै छैन घरमा । गाग्री रित्तै हुन्छन् । धारोमा पानी आउँदैन ।’ पानीको समस्या समाधान गरिदिन देयारपाटाका नागरिकले संघसंस्थादेखि स्थानीय–राष्ट्रिय नेताहरूलाई बारम्बार अपिल गरेका छन् ।

०५२ सालमा बनेका अधिकांश धारा निकै जीर्ण छन् । त्यसयता यो गाउँमा खानेपानीका नयाँ योजना आएनन् । भएका मूल सुक्दै गए । पुराना धारा मर्मतसम्भार पनि भएका छैनन् । वर्षौँदेखि खानेपानीको हाहाकार हुँदा पनि स्थानीय, प्रदेश र संघ सरकार टुलुटुलु हेरेर बसेको भन्दै देवारपाटावासीले असन्तुष्टि पोखेका छन् । बिहान हातमुख धुन र नुहाउन पानी छैन । खाना पकाउन पानी छैन ।

अर्का स्थानीय तुंगप्रसाद काफ्ले भन्नु हुन्छ, ‘गाउँदेखि एक घन्टा टाढा रहेको खिच्ने चौरमा पानी ल्याउन जाने गरेका छौँ । छिमेकी गाउँ रोकायावाडाबाट पनि पानी ल्याएर काम चलाउनुपरेको छ ।’ गाउँमा पानीको सानो मूल भए पनि पर्याप्त छैन । वडाध्यक्षका तेजबहादुर जिसीका अनुसार पानीको मूलको खोजी भइरहेको छ। ‘बजेटको पनि पहल भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘वैशाख–जेठको खडेरीका कारणले मात्र नभएर देयारपाटा गाउँमा बाह्रै महिना खानेपानीको समस्या छ । यो गाउँमा बृहत् खानेपानी आयोजनाको आवश्यकता छ ।’

जिल्लाको तिला गाउँपालिका– १ रारागाउँमा पनि खानेपानीको उस्तै समस्या छ । ४३ वर्षअघि बनेको दुम्कली खानेपानी आयोजना जीर्ण हुँदै छ । मूल पनि सुक्दै गएपछि गाउँमा खानेपानीको अभाव भएको हो । गाउँमा खानेपानीकै विषयमा दैनिकजसो झगडा हुने गरेको छ ।

रारागाउँको मुनि कर्णाली राजमार्गको जुम्ला सडकखण्ड छ । सडकमुनि तिला नदी अनवरत बगिरहेको छ । तर, नदीमा पिउनयोग्य पानी बग्दैन । रारा गाउँवरिपरि पर्याप्त उर्वर जमिन छ । तर, पानी अभावले रारागाउँ नै मरुभूमि भएको छ ।  ‘घरवरिपरिका करेसाबारी बाँझै छन्, आयातित तरकारी र खाद्यान्न खानुपर्ने बाध्यता छ । उत्पादन हुने जमिन छ, तर सुक्खा छ । नदीको पानी खेर गइरहेको छ । सुक्खा जमिनमा उभिएर तिला नदी हेरेर बस्छौं,’ स्थानीय धनराज रावतले भन्नुभयो ।

उहाँले थप्नुभयोे, ‘कैयौँ बालबालिका पानी भर्नकै लागि विद्यालय छुटाउँछन् । यो गाउँका विद्यार्थीलाई बिहान र बेलुका आफ्नो गृहकार्यभन्दा घरमा पानी छ कि छैन भन्ने पिरलो हुन्छ ।’ स्थानीय नन्दबहादुर बुढाका अनुसार पानीकै विषयमा प्रत्येक दिन दुई–तीनजनाको झगडा भइरहन्छ । तीन दशकसम्म खानेपानीको अभाव झेलेको रारागाउँमा सरकारी तथा गैरसरकारी संस्था एवं सरकारीस्तरबाट सरसफाइमा ध्यान दिनुपर्ने सन्देश पुग्यो, तर स्वच्छ पानी पुगेन । ‘सरसफाइका लागि सबैभन्दा बढी समस्या महिनावारी हुने महिला, ज्येष्ठ नागरिक र बालबालिकालाई हुन्छ,’ अर्की स्थानीय दन्तकला बुढाले बताउनु भयो ।

गाउँमा भएका चारवटा धाराबाट दिनमा दुई घन्टा मात्रै पानी आउँछ ।  १० हजार लिटरको ट्यांकी छ । राष्ट्रिय जनगणना ०७८ अनुसार रारामा दुई सय ६८ घरधुरी र एक हजार ६ सय २६ जनसंख्या छ । शुद्ध पानीको मुहान नहुँदा ‘एक गाउँ एक वडा’ भएको रारागाउँका नागरिकले दैनिक समस्या भोगिरहेका छन् । संघीय खानेपानी आयोजनाले चालू आर्थिक वर्षमै खानेपानी समाधान गरिदिने वाचा गरेको तिला गाउँपालिका– १ का वडाध्यक्ष जंगबहादुर बस्नेतले बताउनु भयो । अहिलेलाई छिमेकी वडाबाट पानी ल्याउनुको विकल्प नभएको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘यो गाउँका लागि बृहत् खानेपानी योजना निमार्णाधीन अवस्थामा छ । संघीय खानेपानी आयोजनाले न्यून बजेट विनियोजन गर्ने भएकाले आयोजना सम्पन्न हुन सकेको छैन ।’

यही योजनाका कारण गाउँपालिकाले रारागाउँमा खानेपानीको अर्को योजना बनाएको छैन । संघीय खानेपानी आयोजनाले उक्त योजना निर्माण गर्ने आश्वासन दिएको वडाध्यक्ष बस्नेतको भनाइ छ ।  स्थानीय सरकार पाएको ६ वर्षसम्म पनि खानेपानीको समस्या समाधान नहुँदा राराका स्थानीय सन्तुष्ट छैनन् ।

खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय जुम्लाका प्रमुख अनुप श्रेष्ठका अनुसार बाँइराकाका नागरिकले तिला नदीको पानी लिफ्टमार्फत तानेर खाइरहेका छन् । ‘त्यो पानी खानयोग्य हो–होइन ल्याब टेस्ट गरिएको छैन । स्थानीयले ल्याब टेस्टका लागि माग पनि गरेका छैनन् । माग नभए पनि हामीले छिट्टै ल्याब टेस्ट गर्ने योजना बनाएका छौँ,’ उहाँले भन्नुभयोे, ‘खानेपानीको समस्या भएपछि सौर्य ऊर्जाबाट लिफ्टमार्फत नदीको पानी गाउँमा पुर्याएको हो ।’

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जुम्लाका प्रमुख दीपेन्द्र भट्टका अनुसार बृहत् धौलीगाड खानेपानी आयोजना आवश्यक बजेट सुनिश्चित भएको खण्डमा र नागरिकले निर्माणमा कुनै अवरोध नगरेमा ०८१ सालमै सम्पन्न हुनेछ । आयोजनाको एक अर्ब २६ करोड आठ लाख चार सय ९० रुपैयाँ बजेट रहेको छ । चन्दननाथका १०, गुठीचौरका तीन र तातोपानीका ६ वडाका ८ हजार ६ सय ९५ घरधुरीका ४४ हजार एक सय ६३ जनसंख्या आयोजनाबाट लाभान्वित हुनेछन् । ‘तिला, हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिकामा बृहत् खानेपानी आयोजना निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाएका छौँ । आयोजना निर्माणका लागि बजेट सुनिश्चितताका लागि पहल भइरहेको छ,’ भट्टले भन्नुभयो ।

Photo20230619Jumla (1)

Photo20230619Jumla (3)

 

अन्य

भिडियो