कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०-०८१ को ३६ अर्ब रुपियाँ बढीको वार्षिक बजेट असार ३२ गते सार्वजनिक गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएका मुख्य मन्त्री हिक्मतकुमार कार्कीले ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपियाँ बराबरको वार्षिक बजेट सार्वजनिक गर्नु भएको हो ।
बजेटमा प्रदेशको स्वास्थ्य सेवा विस्तार र विविधिकरणका लागि ३ अर्ब ७ करोड २७ लाख रुपियाँ विनियोजन गरिएको छ ।
प्रत्येक नागरिकलाई आधारभूत खानेपानी सेवा प्रवाह गर्न एक घर, एक धारा अनुरुप खानेपानी तथा सरसफाइ आयोजनाहरुका लागि १ अब ७६ करोड ६३ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ ।
बजेटमा सुत्केरी पोषण कार्यक्रमका लागि ५ करोड रुपियाँ छुट्याइएको छ ।
प्रदेश निर्माणको आधार गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधार कार्यक्रमका लागि ४ करोड ९७ लाख रुपियाँ विनियोजन गरिएको बजेटमा उल्लेख छ ।
सुरक्षित आवास, मर्यादित जीवन कार्यक्रम अन्तरगत विपन्न र पिछडिएका घर परिवारका लागि चालू आर्थिक वर्षमा २ हजार ५ सय आवास निर्माणका लागि १ करोड रुपियाँ विनियोजन गरिएको छ ।
लैङ्गिक हिंसा पीडित तथा बालिकाको संरक्षणका लागि प्रदेश सरकारद्वारा सञ्चालित दीर्घकालीन पुनस्थापना गृह र जिल्लाजिल्लामा सञ्चालित अल्पकालीन पुनस्थापना गृहका लागि १ करोड ३२ लाख रुपियाँ विनियोजन गरिएको प्रदेश सरकारको वार्षिक बजेटमा उल्लेख छ ।
अपाङ्गता रोकथाम तथा पुनस्थापनाका लागि १ करोड ४२ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ ।
कोशी प्रदेशलाई सन् २०२५ सम्ममा वालविवाह मुक्त प्रदेश अभियानका लागि १ करोड ३ लाख रुपियाँ बजेट विनियोजन गरिएको उल्लेख छ ।