INSEC Online

📅 २०८३ जेष्ठ २१

सामूहिक बलात्कार घटनाका अभियुक्तलाई कैद सजाय

सप्तरीको एक परीक्षा केन्द्रमा १६ वर्षीया बालिकामाथि भएको सामूहिक बलात्कार घटनाका अभियुक्त रुपनी गाउँपालका–६ बिरेन्द्र बजारका ३७ वर्षीय दिलिपकुमार खंगलाई अदालतले जेठ ३१ गते ७ वर्ष १ महिना कैद सजायको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश हरिश्चन्द्र ईङ्गनामको इजलासले अभियुक्तलाई ७ वर्ष कैदका साथै सामूहिक बलात्कारतर्फ थप १ महिना कैद गरेको हो । फैसला अनुसार अभियुक्तले पीडितलाई १० हजार रुपियाँ क्षतिपूर्ति दिनुपर्ने र १ हजार ३ सय रुपियाँ फौजदारी कसुर पीडित राहत कोषमा जम्मा गर्नुपर्ने भएको छ । जिल्ला अदालतमा ०७८ कात्तिक ३० गते हाजिर भएका खंगलाई अदालतले मङ्सिर १ गते साढे १ लाख रुपियाँ धरौटी लिई पुर्पक्षका लागि रिहा गरेको थियो ।

रुपनी गाउँपालिका–६ बिरेन्द्र बजारका दिलिपकुमार खंग, २० वर्षीय मुन्ना मण्डल भनिने बेदप्रकाश मण्डललगायत सात जनाले ०७६ जेठ ४ गते साँझ रुपनी गाउँपालिका–६ स्थित परीक्षा केन्द्र रहेको तेरहौता उच्च माध्यमिक विद्यालय परिसरमा सामूहिक बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा ०७६ जेठ ५ गते उजुरी दिनुभएको थियो । कक्षा ११ को परीक्षा दिन अन्यत्र गाउँबाट आएकी बालिक रुपनी गाउँपालिका–६ बिरेन्द्रबजारस्थित सानीआमाको घरमा बसेकी थिइन् । पीडितका अनुसार परीक्षाका विषयमा परीक्षा केन्द्रमा केटा साथीसँग छलफल गरिरहेका बेला आएका आरोपितहरूले उनको साथीलाई कुटपिट गर्दै सामूहिक बलात्कार गरे ।

पीडित बालिकाका केटा साथीले सहयोगीहरू लिएर परीक्षा केन्द्र पुग्दा आरोपितहरूले स्थान परिवर्तन गरेकाले पत्ता लगाउन नसकेको बताउनु भयो । ६ जना आरोपितहरूले बलात्कार गरेपछि पुगेका मुन्नालाई समेत उनीहरूले बलात्कार गर्न लगाएका थिए । बलात्कारका लागि प्रेरित गर्दा आरोपितहरूले ‘मुन्ना’ नाम उच्चारण गरेका थिए । सोही नाम नै घटना पत्ता लगाउन प्रहरीलाई सुराक बनेको प्रहरीले जनाएको छ ।

पीडित र पीडितका साथी बाहिरका भएकाले आरोपितहरू कसैलाई चिन्दैन्थे र नाम पनि जान्दैन्थे । पीडित होसमा आएपछि राति ११ बजे घर पुगेकी थिइन् । घटनाबारे आफन्तलाई बताएपछि भोलिपल्टै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइएको थियो । वयानका क्रममा पीडितले कसैलाई नचिनेको बताएकी थिइन् । उनले आरोपितहरूले पछिल्लो पटक एक जनालाई ‘मुन्ना’ भनेर सम्बोधन गरेको बताइन् । प्रहरीका अनुसार गाउँमा सो नामका युवक पत्ता लगाएर ०७६ जेठ ५ गते सोधपुछ गर्दा घटनाबारे वास्तविकता खुलेको थियो ।

उनै मुन्नाले दिएको बयानका आधारमा अन्य आरोपितहरूको नाम पहिचान हुन सकेको र उजुरी दर्ता गरी कारबाही अगाडि बढाइएको हो । समूहमा नभए पनि आरोपित ६ जनाले सामूहिक बलात्कार गरेपछि अन्तमा पुगेका मुन्नाले पनि बलात्कार गरेको स्वीकारेको प्रहरीले जनाएको छ । सोही आधारमा मुन्नालाई बलात्कारतर्फ मात्र ७ वर्ष कैद सजायको फैसला भएको अदालतले जनाएको छ ।

प्रहरीले आरोपितमध्ये मुन्ना भनिने बेदप्रकाश मण्डललाई ०७६ जेठ ५ गते गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परिक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ०७६ जेठ ५ गते भएको थियो । जिल्ला अदालतको आदेशमा आरोपित मुन्ना भनिने बेदप्रकाश ०७६ असार १ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । न्यायाधीश ईश्वरमणि ओझाको इजलासले ०७७ पुस १२ गते आरोपित मुन्ना भनिने बेदप्रकाश मण्डललाई ७ वर्ष कैद सजायको फैसला सुनाएको थियो ।

फरार आरोपित सोही ठाउँका २५ वर्षीय छोटु भनिने देबनारायण मण्डल ०७८ असार १५ गते गिरफ्तार भएकोमा जिल्ला न्यायाधीश ईश्वरमणि ओझाको इजलासले असार १७ गतेदेखि पुर्पक्षका लागि कारागारमा थुनामा पठाएको थियो । छोटु भनिने देवनारायणले उच्चमा ०७८ असार २१ गते वेरितको आदेश बदर गर्न माँग गर्दै उच्च अदालत जनकपुर राजविराज इजलासमा निवेदन दिएकोमा ०७८ कात्तिक ११ गते साधारण तारेखमा रिहा भएका थिए । उनले जिल्ला अदालतबाट ०८० जेठ २४ गते सफाई पाएका छन् ।

अन्य आरोपितहरू रुपनी गाउँपालका–६ बिरेन्द्र बजारका २८ वर्षीय आनन्द सरदार, सोही उमेरका ओमप्रकाश मण्डल, २० वर्षीय पुकपुक भनिने सुमित मण्डल र सोही उमेरका बिद्यानन्द सरदार हालसम्म गिरफ्तार भएका छैनन् ।

अन्य

भिडियो