नीलकण्ठ नगरपालिकाले १ सय ४४ जना दलित विद्यार्थीहरूलाई प्रति व्यक्ति ६ हजार देखि ८० हजार रुपियाँसम्म छात्रवृत्ति रकम ०८० जेठ ३१ गते वितरण गरेको छ ।
आर्थिक वर्ष २०७९/८० को दलित छात्रवृत्ति अन्तर्गत ८० हजार रुपियाँ छात्रवृत्ति पाउनेमा रेशु विश्वकर्मा र सुनिल सुनार रहेका छन् । उनीहरू एमबिबिएसका विद्यार्थी हुन् ।
गतवर्ष मणिपाल कलेजमा एमबिबिएस अध्यायनका लागि नाम निकाल्नु भएको सुनिल सुनारले आर्थिक अभावका कारण अध्यायन गर्न सक्नुभएको थिएन । नगरपालिकाको दलित छात्रवृत्ति कार्यक्रम दुई वर्षअघि देखि नै लागु गर्ने भनिए पनि विवादका कारण लागु भएको थिएन ।
यसवर्ष नगरपालिकाले पुरानो कार्यविधिलाई आधार मानेर दलित छात्रवृत्ति दिएको नगरपालिका शिक्षा शाखाका प्रमुख नारायणप्रसाद वाग्लेले जानकारी दिनुभयो ।
नीलकण्ठ नगरपालिकाद्वारा बीडीएका विद्यार्थी सिजा विश्वकर्माले ४० हजार, प्राविधिक धारका विद्यार्थी विष्णु नेपाली, प्रमोद सार्की, राजु विश्वकर्मा, दिनेश रोक्का, रोशन विश्वकर्मा, अनिता परियार, लक्ष्मी नेपाली, निशान विश्वकर्मा, प्रकाश विश्वकर्मा, प्रकाश विश्वकर्मा र सविता सिजालीले २५/२५ हजार रुपियाँ छात्रवृत्ति पाएका छन् ।
स्नातक अध्यायन गर्ने २५ जना विद्यार्थीले ८ हजारका दरले, कक्षा ११ र १२ का १ सय ५ जना विद्यार्थीले ६ हजारका दरले छात्रवृत्ति पाएका छन् ।
नीलकण्ठ नगरपालिकाले १३ लाख रुपियाँ बजेट विनियोजन गरेकोमा दलित छात्रवृत्तिका लागि निवेदन माग गर्दा सङ्ख्या धेरै परेपछि कार्यविधिमा तोकिएभन्दा केही थोरै रकम उपलब्ध गराएको थियो ।
दलित छात्रवृत्ति कार्यक्रमले शिक्षाबाट वञ्चित गरिब समूदायले शिक्षा हासिल गर्न अवसर पाएको नगरपालिकाको उपप्रमुख दिपक विश्वकर्माले जानकारी दिनुभयो ।
नीलकण्ठ नगरपालिकाको छात्रवृत्तिसम्बन्धी विषयमा ०७९ चैत ९ गते इन्सेक अनलाइनमा ‘आन्तरिक विवादले नीलकण्ठमा दलित छात्रवृत्ति रोकियो‘ शीर्षकमा समाचार प्रकाशन भएपछि नगरपालिकाले दलित विद्यार्थीको छात्रवृत्तिका लागि निवेदन दिने समय एक साता थप गरेर निवेदन सङ्कलनपछि छात्रवृत्ति दिइएको थियो ।
नगरपालिकाले छात्रवृत्ति व्यवस्थापन समितिको निर्णय अनुसार छात्रवृत्ति वितरण गरेको हो ।
