८ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको अभियोगमा बागलुङको बडिगाड गाउँपालिका–७ का १९ वर्षीय इमानसिंह रानालाई १२ वर्ष ६ महिना कैद सजायको फैसला भएको छ ।
न्यायाधीश दिवाकर भट्टको जेठ २८ गतेको आदेशले कैदसँगै ४० हजार रुपियाँ जरिबाना फैसला गरेको जिल्ला अदालत बागलुङका इजालास अधिकृत गंगाधर सापकोटाले जानकारी दिनुभयो ।
पीडित बालकलाई रानाले ०७९ साउन २० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले साउन २२ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए ।
प्रहरीले आरोपितलाई साउन २२ गते गिरफ्तार गरेर भदौ १३ गते जिल्ला अदालत बागलुङमा बाल यौन दुर्व्यवहार कसुर शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
आरोपितलाई अदालतको भदौ १५ गतेको आदेशले आरोपित पुर्पक्षको लागि थुनामा राखिएको थियो ।
पीडित बालकको स्वास्थ्य परीक्षण साउन २२ गते धौलागिरी अस्पताल बागलुङमा गरिएको थियो ।