INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रकाश मानव अधिकार पुरस्कारका लागि नाम सिफारिस गर्न इन्सेकद्वारा सार्वजनिक आह्वान

इन्सेकका संस्थापक महासचिव अथक मानव अधिकार योद्धा प्रकाश काफ्लेको स्मृतिमा स्थापित प्रकाश मानव अधिकार पुरस्कारका लागि नाम सिफारिस गर्न इन्सेकले सार्वजनिक आह्वान गरेको छ ।  मानव अधिकार र सामाजिक न्यायका लागि क्रियाशील व्यक्तिको नाम सिफारिस [email protected] मा गर्न सकिने इन्सेकले जनाएको छ ।

प्रकाश काफ्लेको स्मृतिलाई चिरस्थायी राख्ने उद्देश्यले इन्सेकले ०५१ सालमा प्रकाश मानव अधिकार पुरस्कारको स्थापना गरेको उल्लेख गर्दै इन्सेकले हरेक वर्ष मानव अधिकार र सामाजिक न्याको क्षेत्रमा क्रियाशील एकजना व्यक्तिलाई ५० हजार रुपियाँ नगद, सम्मान–पत्र तथा इन्सेकको प्रतीक चिह्न प्रदान गर्ने गरेको उल्लेख छ ।

‘हालसम्म यस पुरस्कारबाट बाल साहित्य तथा ग्रामीण पत्रकारिताका सर्जक विनयकुमार कसजु, मानव अधिकार आयोगका संस्थापक सदस्य डा. गौरी शङ्करलाल दास, परोपकार संस्थाका संस्थापक दयावीर सिंह कंसाकार, महिलाको मताधिकारका लागि आवाज उठाउने बसन्तदेवी झा, कमैया मुक्ति आन्दोलनका लागि सङ्घर्षरत ऋषिराम थारु, ग्रामीण क्षेत्रमा रहेर स्वास्थ्य सेवा पुर्‍याइरहनु भएका डा. रुपचन्द्र विश्वकर्मा, हलिया तथा दलित आन्दोलनका अभियन्ता राजुराम भूललगायत विभिन्न क्षेत्रमा आवाज बुलन्द गर्ने २८ जना व्यक्तित्व पुरस्कृत भइसक्नु भएको छ ।’–इन्सेकले जनाएको छ ।

पुरस्कारलाई व्यवस्थित गर्ने र छनौट प्रकृयालाई पारदर्शी बनाउने उद्देश्यले यस वर्ष इन्सेकका पूर्व अध्यक्षहरू तथा सल्लाहकार समाविष्ट उच्चस्तरीय पुरस्कार छनौट समिति गठन गरिएको र सो समितिले असार १५ गतेभित्र प्राप्त सिफारिसका आधारमा पुरस्कारको निर्णय लिने इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले बताउनु भयो ।

कुनै फौजदारी कसुर, बैङ्किङ् कसुर, भ्रष्टाचार र आर्थिक अपराध तथा मानवताविरोधी र युद्ध अपराधको आरोपित र अभियोजन नलागेको, जातीयद्वेष तथा विभेद, यौन दुरुत्साहन तथा यौन हिंसा र अन्य नैतिक पतन हुने अपराधको आरोप र अभियोजन नलागेको, नैतिकवान र सदाचारी जीवनशैली अवलम्बन गरेका कारण समाजमा सम्मान प्राप्त भएको व्यक्तिलाई पुरस्कारका लागि सिफरिस गर्न सकिने इन्सेकद्वारा जारी आह्वानमा उल्लेख छ ।

नुवाकोटको घोप्टेभिरमा ०४९ साउन १६ गते भएको थाइ एयरबसको विमान दुर्घटनामा निधन हुनुभएका इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको स्मृतिमा इन्सेकले ०५१ सालदेखि हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ ।

PHR Award2080

अन्य

भिडियो