INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्यकर्मीहरु पाँच महिनादेखि तलब सुविधा पाउनबाट वञ्चित

जयपृथ्वी नगरपालिका क्षेत्रमा सञ्चालित स्वास्थ्य शाखा तथा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीले पाँच महिनादेखि तलब सेवाबाट वञ्चित हुनु परेको छ ।

स्वास्थ्य शाखाका कर्मचारी, नगरपालिका क्षेत्रमा सञ्चालित स्वास्थ्यचौकी, उपस्वास्थ्यचौकी र सहरी स्वास्थ्य संस्थामा कार्यरत ४० जना स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब सेवा पाउन सकेका छैनन् ।

सरकारले पठाएको बजेट अपुग भएपछि नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले तलब नपाएको नगरपालिका स्वास्थ्य शाखाका संयोजक नयनबहादुर सिंहले जानकारी दिनु भयो ।

उहाँले गत माघ महिनादेखि नेपाल सरकारका करिब ४० जना कर्मचारी एवं स्वास्थ्यकर्मीले तलब नपाउँदा पनि स्वास्थ्य सेवा प्रवाहमा कुनै समस्या अनाउने गरी काम भइरहेको बताउनु भयो ।

नगरपालिकाले करारमा नियुक्त गरेका स्वास्थ्यकर्मीले भने नियमित तलब पाइरहेका छन् । सिंहले भन्नु भयो, ‘एउटै कार्यालयमा नगरपालिकाले करारमा नियुक्त गरेका कर्मचारी एवं स्वास्थ्यकर्मीले नियमित तलब पाइरहने तर नेपाल सरकारको तर्फबाट तलब पाउने स्वास्थ्यकर्मीहरुले पाँच महिनादेखि तलब नपाउँदा कर्मचारीको घर व्यवहार चलाउन समस्या परेको छ । हामीले मन्त्रालयमा परिपत्र गरेका छौँ । असारमा बजेट आउने कुरा त भएको छ ।’

जयपृथ्वी नगरपालिका–१ कैलासमा रहेको कैलास स्वास्थ्यचौकीमा कार्यरत अहेव धिरेन्द्रबहादुर खड्काले माघ महिनादेखि तलब नपाएको र सरकारले स्वास्थ्यकर्मीलाई बेवास्ता गरेको आरोप लगाउनु भयो ।

उहाँले भन्नु भयो, ‘सरकारले पैसा नपठाउँदा बिनापारिश्रमिक काम गर्न परिरहेको छ । धेरै पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान भएन ।’ आफूहरूको समस्यामा नगरपालिका समेत बेखबर बनेको उहाँको भनाइ छ ।

नेपाल निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष दिनेश धामीले नेपाल सरकारले पाँच महिनासम्म तलब नदिएर स्वास्थ्यकर्मीमाथि अन्याय गरेको बताउनु भयो ।

पटक–पटक सम्बन्धित निकायमा जानकारी गराउँदा समेत समस्याको सुनुवाइ नभएको उहाँको भनाइ छ । उहाँले भन्नु भयो, ‘नगरपालिकाका करारका कर्मचारीले तलब खाने नेपाल सरकारका कर्मचारीले तलब खान नपाउने यो कस्तो खालको नियम हो । कर्मचारीले भोको पेट कहिलेसम्म काम गर्ने ? सरकारले हामीहरूलाई अन्याय गरेको छ ।’

बजेट सकिएको भनेर सरकारले थप रकम नपठाएका कारण स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई तलब खुवाउन नसकिएको जयपृथ्वी नगरपालिका लेखापाल कुम्भबहादुर खातीले बताउनु भयो ।

उहाँले तलब खुवाउन बाँकी रकमको माग गर्दै स्वास्थ्य मन्त्रालयमा पत्राचार गरिरहेको भए पनि  तलबका लागि रकम निकासा भएर नआउँदा तलब खुवाउन नसकेको बताउनु भयो ।

अन्य

भिडियो