INSEC Online

📅 २०८३ जेष्ठ २१

कनकासुन्दरीमा भाइरल ज्वरोको संक्रमण फैलियो

जुम्लाको कनकासुन्दरी गाउँपालिका–७ देयारपाटामा केही दिनदेखि फैलिएको भाइरल ज्वरोबाट जेठ १८ गते एक जना महिलाको मृत्यु भएको छ । अन्य ५३ जना बिरामी परेका छन् ।

ज्वरोका कारण मृत्यु हुनेमा सोही गाउँपालिका–७ देयारपाटा गाउँकी ६१ वर्षीया दिपु उपाध्यायको जेठ १६ गते मृत्यु भएको हो । मृतकको घर वरिपरि अरु थप बिरामी पर्न थालेपछि तत्कालै–७ का वडा अध्यक्ष तेजबहादुर जिसीले जनस्वास्थ्य कार्यालय जुम्लामा खबर गरेका थिए ।

तुरुन्तै कर्णाली प्रतिष्ठानको टोली ५३ जना बिरामी चेकजाँच गरेर फर्केर आएको जनस्वास्थ्य कार्यालय जुम्लाका जनस्वास्थ्य निरीक्षक प्रेमबहादुर सुमाइले बताउनु भयो । उहाँका अनुसार ५३ जना मध्ये ८ जना अलि गम्भीर प्रकृतिका थिए । त्यसमा दुई जनालाई जुम्लाको सदरमुकाममा अवस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको थियो ।

अहिले उनीहरु दुई जनाको उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको जनस्वास्थ्य निरीक्षक सुमाइले बताउनु भयो । कोभिडको शंकामा चेकजाँच गरिएको र उनीहरुको रिपोर्ट भन्ने भोलिसम्म आउने उहाँले बताउनु भयो । बिरामीमा ज्वरो आउनुका साथै आँखाको नानी र टाउको दुख्ने, घाँटी दुख्नेजस्ता लक्षण देखा परेको छ । उक्त वडामा अहिले फेरि प्रतिष्ठानका डा. विशाल रोकायासहित दुई जनाको टोली खटिएको छ ।

जनस्वास्थ्य कार्यालयले चार जना स्वास्थ्यकर्मी परिचालन गरेको सुमाइले बताउनु भयो । गाउँभरी नै अहिले भाइरल ज्वरोको सक्रमण बढेपछि भाइरल ज्वरो प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको हो ।

उक्त वडामा १ सय १५ घरधुरी छन् । अहिले प्रत्येकको घर घरमै पुगेर स्वास्थ्यकर्मीले चेकजाँच गरिएका छन् । स्थानीयको स्वास्थ्य चेकजाँच र औषधि उपचार भइरहेको जनस्वास्थ्य कार्यालय जनाएको छ ।

गाउँमा बिहान बेलुका सुख्खा हावाहुरी चल्ने र मौसम परिवर्तनको समयमा रुघाखोकी ज्वरो, टाउको दुख्ने लगायतका समस्या देखिने भएकाले यसबाट बच्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

अन्य

भिडियो