साविक धैबुङ्ग गाविस-३ हाल कालिका गाउँपालिका-३ की १९ वर्षीया देवकी ढकालको नाम सहिदको अभिलेखमा छुट भएकोले जिल्ला प्रशासन कार्यालय समक्ष मनश्याम (मोहनप्रसाद) ढकालले निवेदन दिनुभएको छ ।
देवकी ढकाललाई माओवादी आन्दोलनमा सघाएको आरोपमा नेपाली सेनाले राम्चे ब्यारेकमा तारेख लगाएर नियमित बोलाउने, कुटपिट तथा यातना दिएको कारण ०५९ कात्तिक २३ गते मृत्यु भयो ।
सेनाले राम्चे ब्यारेकमा नियमित तारेखमा बोलाएर यातना दिने क्रममा सोही दिन राम्चे ब्यारेकबाट फर्केपछि उहाँको मृत्यु भएको थियो । मृतकलाई माओवादीहरूले सहिद घोषणा गरे ।
कालिका गाउँपालिका-२ कालिकास्थान बजारमा माओवादीले निर्माण गरेको सहिदद्वारमा देवकी ढकालको नाम पनि सहिदको सूचिमा समावेश छ । सरकारले ०७९ फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको सहिदको सूचीमा भने उहाँको नाम परेन ।
जिल्ला प्रशासन कार्यालयमा ०८० जेठ १७ गते नाम छुटेकोले समावेश गराउन निवेदन दिएको ढकालले बताउनु भयो ।
नियतबस अहिले राजपत्रमा उहाँको नाम छुटाएको भन्दै मृतकका बाबु मनश्याम (मोहनप्रसाद) ढकालले दुःख लागेको बताउनु भयो । सशस्त्र द्वन्द्वको नेतृत्वकर्ता पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफै सरकारको नेतृत्वमा हुनुहुन्छ । यही सरकारले आफ्नो छोरीको नाम सहिदको सूचिबाट हटाएपछि मनमा ठूलो चोट पुगेको ढकालले इन्सेकका प्रतिनिधिलाई बताउनु भयो ।
उहाँले भन्नुभयो ‘शान्ति सम्झौतापछि पनि माओवादी अभियानमा माओवादी कार्यकर्ताहरूले दवाव दिइरहेका थिए, उनीहरूको कुरा नमानेपछि पूर्वाग्रह राखेर नाम हटाएका हुन्’ ।
इन्सेकका प्रतिनिधिलाई जानकारी दिएपछि उहाँले ०८० जेठ १७ गते जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयमा सहिदको अभिलेखमा नाम छुट भएकोले समावेश गरिपाउँ भनेर निवेदन दिनुभयो ।
शसस्त्र द्वन्द्वका क्रममा मृत्यु भएका व्यक्तिलाई नेपाल सरकारले विभिन्न समयमा सहिद घोषणा गर्दै आएको छ । ०७९ फागुन १५ गतेको मन्त्रिपरिषदको निर्णय अनुसार नेपाल सरकारले ०७९ फागुन २९ गते राजपत्रमा सहिदको नाम प्रकाशन गर्दा देवकीको नाम समावेश नभएको ढकालले जानकारी दिनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी दयाराम पौडेलका अनुसार नाम सच्याउन निवेदन आएको हुँदा दर्ता गरेर सो को जानकारी गृह मन्त्रालय पठाउने बताउनु भयो ।