INSEC Online

📅 २०८३ जेष्ठ २१

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणित

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा संसदबाट पारित भएको नागरिकतासम्बन्धी विधेयकलाई वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले ०८० जेठ १७ गते प्रमाणीकरण गर्नुभएको हो ।

प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा संसदबाट पारित भएको नागरिकतासम्बन्धी विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले सुझाव सहित संशोधन गरी पेश गर्न प्रतिनिधिसभामा फिर्ता पठाएकोमा सरकारले पुन: प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित गराई स्वीकृतिका लागि पठाएको थियो ।

Rastrapti_nagarikta-bidheyak_Cover_final-1024x458

सोही विधेयक प्रमाणीकरण गर्न ०८० जेठ १२ गते बसेको मन्त्रिपरिषदको निर्णयबाट राष्ट्रपति रामचन्द्र पौडेललाई नागरिकता विधेयक प्रमाणीकरण गर्न पत्रमार्फत् अनुरोध गरेको थियो । मन्त्रिपरिषद्को पत्र अनुसार संविधानको धारा ६१ र ६६ बमोजिम राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्नुभएको हो ।

राष्ट्रपति पौडेलले प्रमाणित गर्नुभएको विधेयकमा ०७२ असोज ३ गते अघि जन्मेका आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बुबा र आमा दुवै नेपालको नागरिक रहेछन् भने निजको उमेर १६ वर्ष पूरा भएपछि वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ भन्ने कुरा उल्लेख छ ।

त्यस्तै विधेयकमा नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको प्रत्येक नाबालक निजको बुबा वा आमाको पत्ता नलागेसम्म वंशजको नाताले नेपालको नागरिक मानिने उल्लेख छ ।

विधेयकको प्रावधानमा नेपालको नागरिक आमाबाट नेपालमा जन्म भएको, नेपालमा नै बसोबास गरेको, बुबाको पहिचान हुन नसकेको र त्यस्तो पहिचान हुन नसकेको भन्दै स्वघोषणा गर्ने व्यक्तिले आमाको नामबाट मात्र वंशजको नागरिकता पाउने उल्लेख छ ।

बुबाको पहिचान हुन नसकेको व्यहोराको नागरिकता लिने व्यक्ति वा उसको आमाले स्वघोषणा गर्नुपर्ने प्रावधान विधेयकमा छ । यदि स्वघोषणा गरी वंशजको नागरिकता लिएका व्यक्तिको बुबा विदेशी ठहरिएमा भने उक्त नागरिकता रद्ध हुने र त्यस्तो व्यक्तिले अङ्गीकृत पाउने कुरा उल्लेख छ ।

त्यस्तै विधेयकमा विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिलाबाट नेपालमा जन्मिएको व्यक्तिले नेपाली नागरिकता लिँदाका बखत निजको आमा र बुबा दुवै नेपाली नागरिक रहेमा त्यस्तो व्यक्तिले वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने प्रावधान राखिएको छ ।

विधेयकले गैरआवासीय नेपालीलाई गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने बाटो खोलेको छ । विधेयकको प्रावधानमा यदि विदेशमा रहेका कुनै पनि नेपालीका बुबा वा आमा, बाजे वा बज्यै साविकमा नेपालको नागरिक रहेको प्रमाण भए त्यस्ता व्यक्तिले गैरआवासीय नागरिकता प्राप्त गर्न सक्नेछन् भनेर उल्लेख गरिएको छ ।

विधेयकमा सार्क मुलुकमा रहेका र बसोबास गरेका नागरिकहरूले यस्तो नागरिकता प्राप्त गर्न नसक्ने उल्लेख छ ।

राष्ट्रिपतिले प्रमाणीकरण गर्नुभएको विधेयक राजपत्रमा प्रकाशित भएपश्चात कार्यन्वयनमा आउनेछ ।

यस अघि पूर्व राष्ट्रपति भण्डारीले उक्त विधेयकमा १५ बुँदामा सुझावसहित सरकारको ध्यानाकर्षण गराई प्रतिनिधिसभामा फिर्ता पठाउनु भएको थियो भने पुन: प्रमाणीकरणको लागि आएको विधेयकमा कुनै कारबाही अगाडि बढेको थिएन ।

अन्य

भिडियो