INSEC Online

📅 २०८३ जेष्ठ २२

गणतन्त्र सुनिश्चितताको माग गर्दै अधिकारकर्मीद्वारा नागरिक खबरदारी

गणतन्त्रको संस्थागत विकास सुनिश्चितताको माग गर्दै पोखराका अधिकारकर्मीहरूले जेठ १५ गते नागरिक खबरदारी गर्दै प्रर्दशन गरेका छन् ।

शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराको आयोजनामा शहिदचोकमा भएको खबरदारी कार्यक्रमका सहभागीहरूले ‘गणतन्त्रको संस्थागत विकास गरौं,’ दण्डहिनताको अन्त्य र विधिको शासन हामी सबैको चाहना,’ गणतान्त्रिक आन्दोलनका घाइतेको उपचारको ग्यारेण्टी गरियोस लगायतका नारा लेखिएका पोस्टर लिएर प्रर्दशन गरेका थिए ।

कार्यक्रममा बोल्दै मानवअधिकारवादी नेता टेकनाथ बरालले २०६२÷६३ को आन्दोलन सफल पार्न नागरिक समाजको ठूलो भूमिका रहेको तर सोही अनुसारको प्रतिफल भने प्राप्त हुन नसकेको भन्दै चिन्ता व्यक्त गर्नु भयो । आन्दोलनका घाइतेहरू अझैंपनि घाउ र पीडा बोकेर हिँडिरहेको बताउनुभयो । जघन्य अपराध गर्नेलाई आममाफी दिनु जस्ता गलत कार्यले गणतन्त्र नै धरापमा परेको उहाँको भनाइ छ ।

सञ्जालका संयोजक बिना सिलवालले राज्य संयन्त्र नागरिकप्रति जवाफदेही नभएको भन्दै देशमा भ्रष्टाचार, महङगी दिनानुदिन बढ्दै गएको बताउनु भयो । खुुसीले मनाउनुपर्ने दिवस गुनासोकाबिच मनाइहनुपरेको उहाँको भनाइ छ । दण्डहिनताको अन्त्यका लागि सबै एकजुट हुनेपर्नेमा उहाँले जोड दिनु भयो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीका संयोजक शिव खकुरेलले गणतन्त्र ल्याउनका लागि आन्दोलन गर्दैगर्दा गणतन्त्र पश्चात देशमा सुशासन कायम हुनेछ भन्ने आम नागरिकको भावनामाथि कुठाराघात भएको बताउनु भयो ।

तीनै तहको अदालतले दोषी ठहर गरेका व्यक्तिलाई आममाफी दिनु, नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा सरकारका उच्च पदस्थ व्यक्ति नै संलग्न हुनु जस्ता कार्यले नागरिकमा नैराश्यता बढ्दै गएको उहाँको भनाइ थियो ।

सशस्त्रद्वन्द्व शहिद परिवार तथा घाइते समन्वय समिति कास्कीका अध्यक्ष शेखर गौतमले अपराधीहरूलाई आममाफी दिने प्रपञ्चमा दलहरूलाग्नु लोकतन्त्र र गणतन्त्रमाथिकै प्रहार भएको बताउनु भयो  । घाइतेहरूको उपचारका लागि प्रदेश सरकारसँग बारम्बार गुनासो गर्दा समेत कुनै सुनुवाई नभएको उहाँले गुनासो गर्नुभयो । शिक्षा, स्वास्थ्य र रोजगारीसँग सम्बन्धित माग सरकारले पुरा गर्नुपर्ने उहाँले बताउनु भयो ।

गैरसरकारी संस्था महासंघका केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदीले गणतन्त्र स्थापनाको डेढ दशक बितिसक्दा समेत नागरिकले त्यसको अनुभूति गर्न नपाएको बताउनु भयो । नागरिकका अधिकार संकुचित हुँदैै गएको उहाँको भनाइ छ । हत्यारालाई आममाफी दिनु, दण्डहिनता मौलाउँदै जानुले गणतन्त्र नै धरापमा परेको उहाँले बताउनुभयो ।

pic 3pic 1

अन्य

भिडियो