सिन्धुलीको कमलामाई नगरपालिका-५ ऐसेलुजङ्घारमा रहेको सिन्धुली कारागारको राष्ट्रिय मानव अधिकार आयोग र इन्सेक बागमती प्रदेश कार्यालयबाट आएको टोलीले ०८० जेठ ४ गते अनुगमन गरेको छ ।
कारागारको अवस्थाबारे अनुगमन गर्न आएको टोलीलाई स्थानीयले कारागारको फोहोर व्यवस्थापन नहुँदा वातावरण प्रदुषण भएको गुनासो गरे ।
राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश प्रमुख यज्ञ अधिकारी र इन्सेक बागमती प्रदेश प्रमुख गणेश भण्डारी सहितको टोलीलाई स्थानीय गणेश बहादुर श्रेष्ठले कारागार प्रशासनलाई पटक पटक शौचालय तथा भान्साबाट निस्कने फोहोरको उचित व्यवस्थापन गर्न आग्रह गर्दा पनि कुनै सुनुवाई नभएको गुनासो गर्नुभयो ।
विगतमा कारागारमा थोरै कैदिबन्दी हुनेमा झण्डै नौ सयको सङ्ख्यामा कैदिबन्दी हुँदा कारागारमा रहेको सेफ्टि ट्याङ्की भरिएपछि सिधै सागुगैरा खोलामा मिसाइ दिँदा स्थानीय वातावरण दुर्गन्धित हुने गरेको बताउनु भयो ।
उहाँले टोली समक्ष भन्नुभयो ‘दिउँसोको समयमा दुर्गन्ध थोरै हुन्छ रात र बिहानको समयमा बाहिर हिँडडुल गर्न समेत सकिँदैन । विगतमा गाई बस्तुलाई खोलामा पानी खुवाउन ल्याउने गरेकोमा अहिले उक्त खोलाको दुषित पानीका कारण बस्तुभाउ पनि बिरामी हुने गरेका छन् ।’
‘खोलाको दुषित पानीका कारण धान, लसुन, प्याज लगाएत तरकारी बाली समेत मर्न थालेको छ’, उहाँले भन्नुभयो ।

स्थानीय बासिन्दाले जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा समेत गएर गुनासो गरेको बर्षौ भएपनि सुनुवाई नभएको बताउनु भयो ।
अर्का स्थानीय मदन कुमार श्रेष्ठले कारागारबाट निस्कने दुषित पानी र फोहोरका कारण यस क्षेत्रका जग्गा विक्रि हुन छाडेको बताउनु भयो ।
यहाँका जनताले शौचालय बनाएर खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्न सहयोग गरेकोमा सरकारी तवरबाट दिसा खोलामा बगाउँदा यहाँको वातावरण प्रदुषित त भयो नै जनजीवन समेत प्रभावित हुन थालेको छ ।

कारागारका कैदीबन्दीले प्रयोग गर्दा निस्केको फोहोर पानी र शौचालयको पानी साँघुगैरा खोल्सीमा कारागार प्रशासनले नियम विपरीत निकास गर्दा ऐसेलुजङ्घार र त्यस तलका बस्तीका बासिन्दाहरूलाई दुर्गन्धले यस क्षेत्रका एक हजार पाँच सय घरधुरी प्रभावित भएको उहाँले बताउनु भयो ।
ऐसेलुजङ्घार, सानो करकरे, माझीडाँडा, पञ्चकन्या टोल, मजगाईं टोल लगाएतका क्षेत्रमा दुर्गन्ध फैलने गरेको स्थानीयको भनाई छ ।

अनुगमन टोलीले कारागार प्रशासन समक्ष स्थानीयको गुनासोको बारेमा जानकारी लिएको छ । कारागारका जेलर कुशल न्यौपानेले हाल भान्सा र बाथरुमबाट निस्केको पानी खोलामा मिसाइएको बताउनु भयो । ‘स्थानीयले खोलामा दिसा बगाएको भने पनि अहिले सेफ्टि ट्याङकी भरिएको छैन र भरिन अझै केही वर्ष लाग्छ’, उहाँले भन्नुभयो ।

भान्साबाट निस्केको पानीले दुर्गन्धित भएकोमा कारागार प्रशासनले यसको व्यवस्थापनका निम्ति आवश्यक पहल सुरु गरेको बताउनु भयो । प्राविधिक डिजाइन गरेर बजेट माग गरेर भान्सा र बाथरुमको पानीको उचित व्यवस्थापन गर्ने बताउनु भयो ।
सिन्धुली कारागारमा सात सय ६३ जना कैदिबन्दी, ६ बालक र आठ बालिका गरी १४ जना आश्रीत बालबालिका रहेका छन् ।
