INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्यकर्मी ६ महिनादेखि तलब विहीन

स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरू ६ महिनादेखि तलब विहीन भएको गुनासो गरेका छन् ।  वीरेन्द्रनगर नगरपालिका– ७ स्थित कटकुवा स्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेव निरक थापाले  छ महिनादेखि तलब नआँउदा समस्यामा पर्नुभएको छ ।‘मङ्सिर महिनादेखि तलब आएको छैन् । तलबका विषयमा धेरै पटक विभिन्न निकायको ध्यानाकर्षण पनि गराएको हो तर यो विषयमा कसैले ध्यान नै दिएका  छैनन् ।’ उहाँले भन्नुभयो ।

यसै गरी, वीरेन्द्रनगर नगरपालिका–२ उतरगङ्गा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी उदय थापाले भन्नु भयो ‘अहिले सम्म कहिल्यै यस्तो समस्या भोग्नु परेको थिएन । स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा काम गर्ने कर्मचारीलाई सरकारले वेवास्ता गरेका छ । ’ मासिक तलब नआँउदा घर खर्च चलाउन तथा बालबच्चाको पढाई खर्च जुटाउन समस्या भइरहेको उहाँले बताउनुभयो ।

दैलेखको भैरवी गाउँपालिकाको कुसापानी स्वास्थ्य चौकीबाट काजमा नगर अस्पताल सुर्खेतमा सिनियर अनमी रुपमा कार्यरत वीरेन्द्रनगर–९ की प्रमिला विसीले पनि  मासिक तलब समयमा नआउँदा घरखर्च चलाउन समस्या हुने गरेको बताउनुभयो । मासिक रुपमा आउने गरेको तलबले नै दैनिकी चलाउँदै आउनुभएकी उहाँले पछिल्लो समय आफन्त र साथी भाइहरूसँग सर सापटी गरेर दैनिकी चलाउँन बाध्य हुनुपरेको गुनासो गर्नुभयो ।

वीरेन्द्रनगर नगरपालिका भित्र कार्यरत ९० जना स्वास्थ्य कर्मीले विगत ६ महिनादेखि विना तलबमा काम गर्न बाध्य छन् । ०७९ मङ्सिरदेखि तलब पाएका छैन्न । सरकारले समयमा  रकम निकासा नगर्दा यस्तो समस्या आइपरेको उहाँहरूको गुनासो छ ।

नगरपालिकामा स्वास्थ्यतर्फको दरबन्दी ३८ जना भएकोमा ५२ जना स्वास्थ्यकर्मीले काजमा काम गर्दै आएका छन् । अन्य जिल्लाका विभिन्न स्थान र सुर्खेत जिल्लाका अरू पालिकाबाट कर्मचारी काज सरुवामा आएका हुन् । नेपाल सरकारले नै कर्मचारीको तलब नपठाउँदा कर्मचारी समस्यामा परेको वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले बताउनुभयो ।

नगरपालिकामा आवश्यकता भन्दा बढी कर्मचारी हुँदा यस्तो समस्या सिर्जना भएको उहाँको भनाइ छ । कर्मचारीको सङ्गठन संरचना (ओएनएम)मार्फत कर्मचारी व्यवस्थापनमा लाग्ने उहाँले बताउनुभयो । नगरपालिकामा दरबन्दी ३८ जना र काजमा ५२ सहित नगरपालिकाले राखेका करारका १९ जना कर्मचारी छन् । जसमध्ये नेपाल सरकारका कर्मचारीले तलब नपाएका हुन् ।

कर्मचारी छरपस्ट हुँदा कार्यसम्पादन सकस भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले बताउनुभयो । नगरपालिकामा हाल स्थायी र करार गरी ३५५ जना कर्मचारी कार्यरत छन् । धेरै कर्मचारी हुँदा र स्वास्थ्यका कर्मचारी आफ्नो दरबन्दीमा जान नमान्दा व्यवस्थापनमा सकस भएको उहाँको भनाइ छ ।

अन्य

भिडियो