मोरङका ६५ ओटा मतदान स्थल अति सम्वेदनशील रहेको जिल्ला सुरक्षा समितिले विश्लेषण गरेको छ ।
मोरङमा रहेका ३ सय मतदान स्थलमध्ये १ सय ४४ स्थल सम्वेदनशील रहेको र ८१ मतदान स्थल सामान्य रहेको जनाएको छ । चुनाव लक्षित सुरक्षा व्यवस्थालाई मजबुद बनाउन जिल्लाका विभिन्न मतदान केन्द्रलाई वर्गिकरण गरी सोही अनुसारको सुरक्षा व्यवस्था मिलाइएको सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौड्यालले जानकारी दिए ।
उनले चुनाव बहिष्कार गर्ने पार्टी, चुनाव विरोधी गतिविधि गर्ने समूह र खुल्ला सिमानाका कारण हुनसक्ने आपराधिक घटनालाई मध्य नजर गर्दै मतदान केन्द्रको सुरक्षा स्थितिको वर्गिकरण गरिएको बताए ।
सुरक्षा सम्वेदनशीलताको हिसावमा जिल्लाको उत्तरी क्षेत्र र दक्षिणी इलाका बढी सम्वेदनशील मतदान केन्द्र रहेको भएपनि मोरङमा जुनसुकै परिस्थतिमा पनि चुनाव गर्न कुनै समस्या नरहेको सहायक प्रमुख जिल्ला अधिकारी पौड्यालले बताए ।
मोरङमा कुल ६ सय ५९ मतदान केन्द्र एवम् ३ सय मतदान स्थल तय गरिएको छ । मोरङमा ५ लाख ६३ हजार ८ सय ५८ जना मतदाता रहेका छन् ।