INSEC Online

📅 २०८३ जेष्ठ २१

कोटा कम हुदा रेविजको भ्याक्सीन अभाव

कुकुरले टोक्दा लगाउने रेविज विरूद्धको भ्याक्सीनको अभाव भएको छ । रेविजको खोप लगाउन कोशी अञ्चल अस्पताल आउने बिरामीले भ्याक्सीन लगाउन नपाएका हुन ।

दैनिक ३० देखि ४० जनासम्म भ्याक्सीनका लागि आउने गरेका भएपनि भ्याक्सीनको कोटा कम भएका कारण पुर्‍याउन नसकिएको अस्पतालका मेसु डाक्टर रोशन पोखरेलले जानकारी दिए ।

उनका अनुसार क्षेत्रीय मेडिकल स्टोरले कोशी अञ्चल अस्पताललाई मासिक ७ सय ५० भायल  भ्याक्सीन उपलब्ध गराउने भएकोले कमी भएको हो । अस्पतालमा एक महिनामा ९ सयदेखि १२ सयसम्म बिरामी आउने गरेको पोखरेलले बताए ।

मेसु पोखरेलका अनुसार यति भ्याक्सीनले मुस्किलले २० दिन पुग्ने र बाँकी १० दिनका लागि अपुग हुने भएकोले पनि समस्या भइरहेको छ । रेविजविरूद्धको भ्याक्सीन सरकारले निशुल्क रूपमा प्रदान गर्ने गर्दछ ।

मोरङमा कोशी अञ्चल अस्पतालमा मात्रै यो भ्याक्सीन दिने गरीएको छ । कुकरले टोके एक व्यक्तिले यो भ्याक्सीन २८ दिन भित्रमा तीनदेखि पाँच पटकसम्म लगाउनुपर्छ । तर, भ्याक्सीन नपाए अन्तै गएर महङ्गोमा लगाउन वा भ्याक्सीन आउने आशमा बस्न बिरामीहरू बाध्य हुनुपरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख चन्द्रदेव मेहताले कोटा नै कम भएकोले अभाव भएको बताए ।

अन्य

भिडियो