दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ मा सञ्चालित शुभद्रा मदन फाउण्डेशन(शुभम) का सञ्चालक मदन राईले बाल यौन दुर्व्यवहार गरेको घटनामा निश्पक्ष अनुसन्धान गर्न अधिकारकर्मीहरूले माग गरेका छन् ।

इन्सेक खोटाङ प्रतिनिधि तारानाथ फुयल, बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान(सिजप) का अध्यक्ष राजेश शर्मा, बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चका संयोजक अशोक खनाल, सिविन मोरङ संयोजक बासुदेव अधिकारीलगायतको टोलीले जेठ २ गते खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईँ, डिएसपी मञ्जील मुकारुङ र राष्ट्रिय मानव अधिकार आयोग, शाखा कार्यालय खोटाङ प्रमुख गीता दाहाललाई भेटी निश्पक्ष अनुसन्धानका लागि माग गरेका हुन् ।
अधिकारकर्मीसँगको भेटमा प्रमुख जिल्ला अधिकारी सेढाईँले घटना गम्भीर भएकाले अनुसन्धान लापरबाही वा कमीकमजोरी हुन नदिने बताउनु भयो । उहाँले प्रतिष्ठित मान्छेसँग घटना जोडिएकाले राज्यले पीडित पक्षलाई न्याय दिलाउने गरी अनुसन्धान गर्ने बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी मञ्जील मुकारूङले घटना फाउण्डेशनभित्र रहेका बालबालिकाको भविष्यसँग जोडिएको भएकाले प्रहरीले घटनालाई सुक्ष्म ढङ्गले अघि बढाउने बताउनु भयो । उहाँले घटना सार्वजनिक भएलगत्तै प्रहरीले आरोपितलाई गिरफ्तार गरी अनुसन्धानको प्रक्रिया अघि बढाएकाले निश्पक्ष अनुसन्धान र तटस्थ छानबिनमा शंका नगर्न अधिकारकर्मी समक्ष आग्रह गर्नु भयो ।
राष्टिय मानव अधिकार आयोग खोटाङ शाखा प्रमुख गीता दाहालले शुभम्का विषयमा आयोगले सुक्ष्म ढङ्गले अध्ययन गरीरहेको बताउनु भयो । उहाँले आरोपित गिरफ्तार भएलगत्तै इन्सेक र आयोगले फाउण्डेशनमा रहेका बालबालिकालाई प्रत्यक्ष रूपमा भेटी घटनाका विषयमा जानकारी लिएको बताउनु भयो ।
शुभमका सञ्चालक साकेला गाउँपालिका–२ रतन्छाका ७५ वर्षीय मदन राईलाई प्रहरीले बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा वैशाख २९ गते गिरफ्तार गरेको छ ।
