चौकुने गाउँपालिका–५ रेक्चाका स्थानीयबासीलाई प्राविधिक समेतको सहयोगमा दैनिक न्यूनतम खानेपानीको परिपूर्ति गर्न के कस्तो प्रवन्ध गर्न सकिन्छ तयार गरी लिखित जवाफसाथ प्रतिवेदन पठाउन विपक्षीका नाममा अदालतले आदेश दिएपछि वैशाख ३१ गते रेक्चामा प्राविधिकको टोलीले अनुगमन गरेको छ ।
वेदखोला लिफ्ट खानेपानी आयोजनाको विषयमा प्राविधिक टोलीले रेक्चामा स्थलगत अनुगमन गरेको हो । अनुगमन टोलीमा जिल्ला समन्वय समिति, सुर्खेतका प्रमुख, चौकुने गाउँपालिका, खानेपानी तथा सिचाँई निर्देशनालय कर्णाली प्रदेश, सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना प्रमुखसहितको टोली रहेको जिल्ला समन्वय प्रमुख गंगाराम सुनारले जानकारी दिनुभयो ।
रेक्चाका स्थानीयले वर्षौदेखि खानेपानीको समस्या भोगेको विषयमा ०७९ चैत २ गते इन्सेकको अगुवाइमा स्थलगत अनुगमन भएको थियो । स्थलगत अनुगमनपछि रेक्चाबासीले शुद्ध खानेपानी नपाएको विषयमा सरोकारवाला निकायसँग पहल गरेको थियो । यस विषयमा सरोकारवाला निकायबाट सुनवाई नभएपछि प्रतिवेदनका आधारमा अधिवक्ता प्रकाश बाबु ऐडी र इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका कार्यक्रम अधिकृत परिस्कृत पौडेलले उच्च अदालत, सुर्खेतमा वैशाख २७ गते रिट दायर गर्नुभएको थियो । रिट निवेदनमा खडेरी सुरु हुने वित्तिकै रेक्चाबासीले कि दुषित पानी पिउनु पर्ने कि पानीकै कारण काकाकुल भई गाउँबाट विस्थापित हुनुपर्ने अवस्था रहेको रिटमा जिकिर गरिएको थियो ।
सोही रिट निवेदनका आधारमा उच्च अदालत सुर्खेतका का.मु. न्यायाधीश माधवप्रसाद पोखरलको एकल इजलाशले वैशाख २८ गते विपक्षीलाई कारण देखाऊ आदेश जारी गर्नुभएको थियो । १५ दिनभित्र प्राविधिक समेतको सहयोगमा दैनिक न्यूनतम खानेपानीको परिपूर्ति गर्न के कस्तो प्रवन्ध गर्न सकिन्छ तयार गरी लिखित जबाफसाथ प्रतिवेदन पठाउन विपक्षीका नाममा अदालतले आदेश गरेको थियो ।
अनुगमनपछि सङ्घीय खानेपानी तथा ढल व्यवस्थापना आयोजना सुर्खेतका प्रमुख देवेन्द्र झाले उक्त स्थानमा तत्काल खानेपानीको समस्या समाधानका लागि सङ्घीय सरकारसँग वैशाख ३१ गते सोलार लिफ्टका लागि पत्राचार गर्ने प्रतिवद्धता जनाउनुभएको छ । दिर्घकालीन समस्या समाधानका लागि सङघ सँग एउटा आयोजना माग गरी आगामी आर्थिक वर्षमा बजेटको व्यस्थापनमार्फत अगाडी बढ्ने बताउनुभएको छ ।
यता, जिल्ला समन्वय समिति प्रमुख गंगाराम सुनारले उक्त आयोजनाका लागि समन्वय सहयोग गर्न सधै तत्पर रहेको प्रतिवद्धता जनाउनुभएको छ ।
यसैगरी भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री मंगल शाहीले प्रविधिकको टोलीले बुझाएको प्रतिवेदनका आधारमा काम गर्ने बताउनुभयो । अनुगमनमा गएको टोलीले जेठ २ गतेसम्म प्रतिवेदन बुझाउने बताउँदै पालिकासँग समन्वय गरेर समस्याको समाधानतर्फ लाग्ने मन्त्री शाहीले बताउनुभयो ।
बजेट अभावका कारण उक्त खानेपानी आयोजना चार वर्षदेखि अलपत्र छ । आयोजनाको ७५ प्रतिशत काम पुरा भइसकेको छ । बेदखोलामा रहेको मूलको पानी रेक्चासम्म पु¥याउने योजना अनुरुप घोक्रेबाट लिफ्टिङ्ग गरी पानी लैजाने कार्यको लागि सङ्घीय तथा स्थानीय सरकारबाट १ करोड २६ लाख बजेट निकासा भई कार्य शुरु भएको थियो ।
उक्त योजनाका लागि ल्याइएका बिजुलीका तार, ट्रान्समिटर र खानेपानीका पाइपहरू रेक्चामा यत्रतत्र छरिएको अवस्थामा छन् । ट्रान्समिटर आयोजनाको मुहानसम्म लैजानको लागि सडकको पहुँच नभएका कारण उक्त आयोजना अलपत्र परेको हो । उक्त आयोजनासम्म पुग्नको लागि २.७ किलो मिटर नयाँ बाटोको ट्रयाक खोल्नुपर्ने छ । बजेट अभाव देखाउदै निर्माणको जिम्मा पाएको रबिन्द्र निर्माण सेवा पनि उक्त आयोजनाबाट हात झिक्ने अवस्थामा पुगिसकेको छ ।