सडक दुर्घटनाका आरोपितलाई प्रहरीले संरक्षण दिएको भन्दै राष्ट्रिय युवा संघ नेपाल गुल्मीले वैशाख २७ गतेदेखि अनिश्चितकालिन यातायात बन्द गरेको छ ।
छत्रकोट गाउँकमिटी अध्यक्ष जीवनबाबु पन्तलाई ठक्कर दिने टिप्पर चालकलाई पाल्पा प्रहरीले संरक्षण गरेर परिवारका सदस्यलाई मानसिकरुपमा तनाव दिएको आरोपमा यातायात बन्द गरेका हुन् ।
राष्ट्रिय युवा संघ नेपाल गुल्मीले गरेको यातायात बन्दका कारण नागरिकको जनजीवन प्रभावित भएको छ ।
युवासंघ नेपालले विज्ञप्ती जारी गर्दै वैशाख २७ गते बिहान ५ बजेदेखि अनिश्चितकालिन यातायात बन्दको आव्हान गरेको हो ।
राष्ट्रिय युवा संघ नेपाल गुल्मीका अध्यक्ष सुरेश भण्डारीले प्रहरी प्रशासनले दोषीलाई कारबाही गर्नुको सट्टा पक्ष पोषणमा लागेर पीडित परिवार झन आहात बनाउन खाजेकोले बाध्य भएर गुल्मीबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधनहरूको आवत–जावतमा रोक लगाइएको बताउनु भयो ।
जीवनबाबु पन्तको वैशाख २५ गते पाल्पाको तिनाउ गाउँपालिका–३ झुम्सामा टिप्परको ठक्करबाट मृत्यु भएको थियो । बन्दको कारण जिल्लाबाट छुट्ने कुनैपनि लामो तथा छोटो दुरीका सवारीका साधन छुटेका छैनन् ।
बन्दका कारण गन्तव्यमा हिडेका यात्रुहरू बसपार्कहरूमा अलपत्र परेका छन् । रुपन्देही, पाल्पा र बाग्लुङ्गबाट गुल्मी भित्रने सवारीसाधनहरू नकामा अलपत्र परिरहेको व्यावसायीहरुले गुनासो गरेका छन् ।