गुल्मी अस्पलतालमा जनशक्ति नहुँदा आइसियुलगायतका महत्वपूर्ण स्वास्थ्य उपकरण प्रयोग विहीन बनेका छन् भने बिरामीहरू सेवाबाट वञ्चित भएका छन् ।
जिल्लामा कोभिडको पहिलो र दोस्रो लहरको जोखिमका बेला खरिद गरिएका करिब २ करोडल रूपियाँका स्वास्थ्य उपकरण प्रयोग विहीन भएका छन् । दुई वटा भेन्टिलेटरसहितको पाँच बेडको आइसियु एक वर्षदेखि प्रयोग नभएर अलपत्र परेको छ ।
कोभिड–१९ को बेला २ करोड रूपियाँ बिनियोजित बजेट मध्ये डेढ करोडमा गत वर्षनै पुर्वाधार र उपकरण जडानको काम भएपनि गुल्मी अस्पतालमा जनशक्ति र पाइप लाइन बिस्तार नहुँदा आइसियु अलपत्र भएको छ ।
गुल्मी अस्पतालका प्रमुख डाक्टर राजेन्द्र जिसीले भेण्टिलेटर सञ्ंचालन गर्ने जनशक्ति प्रदेश स्तरबाट व्यावस्थापन नहुने भएकाले केन्द्रिय सरकारको सक्रियता आवश्यक रहेको बताउनु भयो ।
स्वभाविकरुपमा आइसियु सञ्चालन भए अस्पतालको सेवाप्रवाह बढ्ने र नागरिकलाई फाइदा पुग्छ । तर, राज्यको डेढ करोडको लगानी उपयोग विहीन हुँदा नागरिकलाई आइसियु सेवाको लागि बढी खर्च गरेर जिल्ला बाहिर पुग्नुपर्ने बाध्यता रहेको अधिवक्ता बिनोद पाण्डेयले गुनासो गर्नुभयो ।
यस्तै झण्डै ५० लाखको पिसिआर मेसिन र प्रयोगशालाका सामग्रीहरुसहित करिब १ करोडका स्वास्थ्य उपकरण पनि प्रयोग विहीन भएका छन् ।
प्रयोगशाला भएको घरमा अहिले रेसुंगा नगरपालिका – ९ को वडा कार्यालय सञ्चालन गरिएको छ ।
गुल्मी अस्पतालमा स्थायी दरबन्दी अनुसारका जनशक्ति नहुँदा सेवाप्रवाहमा समस्या भएको छ । अस्पतालको स्थायी दरबन्दी ५९ मध्ये १७ जना मात्र स्थायी दरबन्दी र फाजिलका जनशक्ति अस्पतालमा कार्यरत छन् । अस्पतालमा विशेषज्ञ डाक्टरहरू १० जनाको स्थायी दरबन्दीमा एक जना मात्र विशेषज्ञ डाक्टर छन् ।
अत्यधिक सेवाग्राही आउने, पुरानो साँघुरो सङरचना र कम जनशक्तिकाबिच गुणस्तरिय सेवा दिन निकै मुस्किल छ ।