INSEC Online

📅 २०८३ जेष्ठ २१

माओवादी केन्द्रका कार्यकर्ताद्वारा प्रचारप्रसारमा अवरोध पुर्‍याएको काङ्ग्रेस र एमालेको आरोप

पाँच नम्बर प्रदेश अन्तर्गत पूर्वी रुकुमका तीन गाउँपालिकाको चुनावी प्रचारप्रसार कार्यक्रममा माओवादी केन्द्रका कार्यकर्ताको अवरोधका कारण प्रभावित भएको नेपाली काङ्ग्रेस र नेकपा एमालेले आरोप लगाएका छन् ।

चुनाव प्रचारमा गएको अवस्थामा गाउँ गाउँमा क्याम्प बनाएर बसेका माओवादी केन्द्रका कार्यकर्ताले ढुङ्गा प्रहार गरेर लखटेपछि स्थिति दैनिक तनावग्रस्त बन्दै गएको नेपाली काङ्ग्रेसका नेता कृष्ण रोकायले आरोप लगाए ।

असार १ गते सिस्ने गाउँपालिकाको नायगाड बजारमा पुग्ने बित्तिकै आफूसहित पूर्व राज्यमन्त्री गोपाल शाहलाई माओवादी केन्द्रका कार्यकर्ताले हातपात गरी लखेटेको कृष्ण रोकायले बताए । ‘यहाँ हाम्रो आधार इलाका हो तपाँइहरू प्रवेश गर्न पाउनुहुन्न भन्दै लखेटे ।’-रोकायले भने । प्रचार गर्न नदिएपछि सिस्ने गाउँपालिकाको केन्द्र रुकुमकोटमा पुगेर बसेको रोकायले जानकारी दिए ।

यस्तै नेकपा एमालेबाट सिस्ने गाउँपालिकाका उम्मेदवार रहेका नन्दलाल शर्माको चुनावी प्रचार टोलीलाई पनि माओवादी केन्द्रका कार्यकर्ताले प्रचारमा गाउँ पस्न रोक लगाएका छन् । प्रचारमा साविकको प्वाङ गाविसमा पुगेको अवस्थामा माओवादी केन्द्रका कार्यकर्ताले आफूहरूलाई लखटेको शर्माले बताए ।

‘एक हप्ता जति भयो अरु पार्टीका कार्यकर्ता तथा नेतालाई माओवादी केन्द्रका कार्यकर्ताले गाउँ पस्न दिएका छैनन् । यो उनीहरूको पुरानै शैली हो ।’-शर्माले भने । शर्माका अनुसार सिस्ने गाउँपालिकाको केन्द्र रुकुमकोटमा मनोनयन दर्ता गराउन आउने वडा स्तरका उम्मेदवारलाई समेत माओवादी केन्द्रका कार्यकर्ताले धम्की दिएका छन् ।

भौगलिक विकटताका कारण उम्मेदवारी दर्ता गर्न रुकुमकोट आउन बाटो अप्ठेरो र फोनसमेत नलाग्ने वडा भएकाले माओवादी केन्द्रले अन्य दलका उम्मेदवारलाई मनोनयन दर्ता गर्न निर्वाचन कार्यालयमा आउने बाटो छेकेर बस्ने योजना बनाएको नेपाली काङ्ग्रेसले आरोप लगाएको छ ।

पुथाउत्तरगङ्गा र भुमे गाउँपालिकामा पनि माओवादीले प्रचारप्रसारमा अवरोध गरेको नेपाली काङग्रेस रुकुमका सभापति प्रेमप्रकाश ओलीले जानकारी दिए । ‘माओवादीले पुरानै शैलीमा आफ्नो व्यवहार देखाएको छ । अन्य दललाई गाउँ पस्न दिएको छैन, यो निर्वाचन आयोगले हेर्नु पर्छ ।’-ओलीले भने ।

एमाले र काङ्ग्रेसले लगाएको आरोप झुटो रहेको माओवादी केन्द्रले प्रतिक्रिया दिएको छ । माओवादी केन्द्रका नेता सुबोध सेर्पालीका अनुसार स्थानीयबासीले काङ्ग्रेस र एमालेका नेतालाई कुट्न थालेपछि आफूहरूले सुरक्षित तरिकाले पठाएको बताए । ‘हामीले कसैलाई अवरोध गरेका छैनौँ । एमाले र काङ्ग्रेसले जनता समक्ष झुठा र चर्को भाषण गरेपछि गाउँमा झडपको अवस्था आउन सक्ने भएकाले हामीले स्थिति सामान्यीकरण गरेका हौँ ।’-सेर्पालीले भने ।

भौगलिक रूपमा विकट मानिने तीन गाउँपालिकामा माओवादी केन्द्रका कारण प्रत्येक दिन सामान्य झडप भइरहेको एमाले र काङग्रेसको प्रतिक्रिया छ । सञ्चार सुविधाबाट विकट मानिने मगर बाहुल्यता रहेका यी गाउँपालिकामा सरोकारवाला निकायको समेत उपस्थिति न्यून भएकोले जसको प्रभाव छ उसैले एकलौटी आफना कृयाकलाप गर्ने पुरानै संस्कार रहँदै आएको बताइएको छ ।

अन्य

भिडियो