INSEC Online

📅 २०८३ जेष्ठ २१

राजपा नेपालका कार्यकर्ताद्वारा प्रहरीमाथि आक्रमण, जनजीवन प्रभावित

दोश्रो चरणको स्थानीय तह निर्वाचन बहिष्कार गर्न भन्दै राष्ट्रिय जनता पार्टी नेपालले आह्वान गरेको बन्दको दोस्रो दिन जेठ ३१ गते रौतहटमा सो पार्टीका कार्यकर्ताले प्रहरीमाथि आक्रमण गरेका छन् ।

बन्दकर्ताहरूले बिहानैदेखि जिल्ला सदरमुकाम गौरलगायत गरुडा, कटहरीया, पिपरामा टायर बालेर अवरोध पुर्‍याउनुका साथै केही सवारी साधनमाथि तोडफोड समेत गरे । बन्दकर्ताले बिहान गौरस्थित बसपार्कमा पार्किङ्ग गर्न ल्याउँदै गरेको सशस्त्र प्रहरीको ना.३.ख. ५६२२ नम्बरको बसमा गौर नपा-३ कविर चोकमा तोडफोड गरे ।

यसैगरी राजपाका कार्यकर्ताहरूले भारतीय गाडीमा गस्तिमा हिँडिरहेका नेपाल प्रहरीमाथि आक्रमण गरी गाडीमा तोडफोड गर्न लाग्दा प्रहरीसँग झडप भएको थियो । झडपका क्रममा एक प्रहरी जवानको हात भाँचिएको जनाइए पनि प्रहरीले भने त्यसको पुष्टि गरेको छैन ।

जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नविनकृष्ण भण्डारीले झडपका क्रममा एक प्रहरी जवान सामान्य घाइते भएको बताए । उक्त झडपका क्रममा प्रहरीले राजपाका कार्यकर्ताहरू रामेश्वर राययादव, वच्चा राययादव र कमलेस सिन्हालाई गिरफ्तार गरेको छ ।

यसैगरी राजपाका कार्यकर्ताहरुले बन्दको अवज्ञा गरेको भन्दै गरुडा बजारमा एक ट्रकमा तोडफोड गरेको जनाइएको छ । बन्दका कारण जिल्ला सदरमुकामबाट चल्ने लामो तथा छोटो दुरीका सवारी साधनहरू चल्न सकेनन् ।

अन्य

भिडियो