फरार रहेका बलात्कार घटनाका आरोपित पलाँता गाउँपालिका–६ सैनका ३१ वर्षीय संक बुढालाई गिरफ्तार गर्न गएका प्रहरीमाथि वैशाख २५ गते गाउँलेले आक्रमण गर्दा इलाका प्रहरी कार्यालय पलाँताका असई लक्ष्मी ढुंगेल रावत र बलात्कार घटनाका पीडित परिवारका सदस्य धनमान विक घाइते भएका छन् ।
घाइते दुवैको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको र घाइते विकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर शुवराज बमले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार घाइते दुवैलाई हेलिकोप्टरमार्फत उद्धारको तयारी भइरहेको छ । घाइतेहरुको उद्धारका लागि गृह मन्त्रालयमा हेलिकप्टर पठाइदिन पत्राचार गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीले बताउनु भयो ।
बलात्कार घटनाका आरोपी बुढा हत्कडी सहित फरार भएका छन् । उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय र नजिकका प्रहरी चौकीबाट थप टोली पलाँता खटाइएको इन्स्पेक्टर बमको भनाइ छ ।
आरोपित बुढालाई ०७९ असोज ३१ गते बलात्कार गरेको आरोपमा पीडित परिवारले कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिनुभएको थियो । त्यस यता फरार रहेका बुढा घरमा आएको जानकारी पाएपछि बिहान ४ बजे आरोपितलाई गिरफ्तार गर्न ढुंगेलसहित चार जना प्रहरी टोली गएको थियो । प्रहरी पुग्दा घरमै सुतिरहेका बुढालाई प्रहरीले हत्कडी लगाएर जिल्लातर्फ ल्याउने क्रममा गाउँलेले आक्रमण गरेको इन्स्पेक्टर बमले बताउनुभयाे ।