INSEC Online

📅 २०८३ जेष्ठ २१

एक वर्षको अवधिमा ५५ ओटा प्रेस स्वतन्त्रता हननका घटना

नेपालमा एक वर्षको अवधिमा ५५ ओटा प्रेस स्वतन्त्रता हननका घटना भएका छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले जारी गरेको विज्ञप्तिमा सन् २०२२ मे ३ देखि सन् २०२३ अप्रिल २६ गते सम्ममा नेपालमा प्रेस स्वतन्त्रता हननका ५५ ओटा घटना घटेको उल्लेख छ ।

विज्ञप्तिमा ५५ ओटा प्रेस स्वतन्त्रता हननका घटनाबाट ९३ जना पत्रकार र आठ सञ्चार संस्था गरी १ सय १ पीडित भएको उल्लेख छ । गत वर्ष यही अवधिमा ७५ ओटा घटनाहरू अभिलेख भएको थियो ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सञ्चारग्राममा आयोजित कार्यक्रममा बोल्दै महासङ्घका अध्यक्ष विपुल पोखरेलले मुलुकले संविधानसभा मार्फत निर्मित संविधानको आधारमा सङ्घीयताको अभ्यास थालेको आठ वर्ष भइसक्दा पनि नेपालको पत्रकारिता क्षेत्रसँग सम्बन्धित विभिन्न कानुन निर्माण हुन नसकेको उल्लेख गर्नुभयो ।

उहाँले प्रेस स्वतन्त्रताका सन्दर्भमा राज्य र राजनैतिक शक्ति अझै पनि अनुदार रहेको र सञ्चार क्षेत्रमाथि जिम्मेवार राजनीतिक नेतृत्वबाट सञ्चार संस्था घेराउ गर्ने धम्कीसमेत सामना गर्नु परेको बताउनु भयो ।

त्यस्तै नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले महासङ्घको सञ्चार अनुगमन एकाइको तथ्याङ्कमा यस वर्ष पनि पत्रकारको पेसागत सुरक्षाको अभाव जनाउँदै सयौँ उजुरी आएको बताउनु भयो ।

कमजोर साइवर सुरक्षाका कारण अनलाइन सञ्चारमाध्यमा अनाधिकृत प्रवेश गरी समाचार हटाउने जस्ता घटना भएको पनि पुरीले जनाकारी दिनुभयो ।

पुरीका अनुसार नेपाल पत्रकार महासङ्घको सञ्चार अनुगमन एकाइमा अभिलेख भए अनुसार यो एक वर्षको अवधिमा पत्रकार गिरफ्तारका दुई ओटा घटना भएका छन् ।

त्यस्तै मिडिया कब्जा अवरोधका सात ओटा, दुर्व्यवहार तथा धम्कीका २४ ओटा, आक्रमणका ११ ओटा, लैङ्गिक हिंसाका दुई ओटा, पत्रकार विस्थापन एक ओटा र पेसागत असुरक्षाका ५५ ओटा घटना घटेको पुरीले उल्लेख गर्नुभयो ।

Photo_080-1-20_Kathmandu.

अन्य

भिडियो