अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को पहलमा अन्नपुर्ण गाउँपालिका-७ लुम्ले, लान्द्रुकका चारजना अपाङ्गता भएका व्यक्तिहरूले अपाङ्गताको परिचय पत्र पाएका छन् ।
महिला तथा बालबालिका कार्यलय कास्की, प्रमुख लक्ष्मी जिसी (कार्की)ले जेठ ३० गते ४३ वर्षीय चुडामणी सुवेदीलाई रातो, ४६ वर्षीय ओमबहादुर क्षेत्री, ६७ वर्षीय अगनबहादुर क्षेत्री र ५५ वर्षीय डाँसे क्षेत्रीलाई नीलो रङको परिचयपत्र प्रदान गरेकी हुन् ।
रातो कार्ड प्राप्त गर्ने व्यक्तिले मासिक २ हजार र निलो कार्ड प्राप्त गर्नेले मासिक ६ सय रुपियाँका दरले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नुका साथै यातायात र स्वास्थ सेवामा पनि छुट पाइने महिला तथा बालबालिका कार्यलय कास्की, प्रमुख जिसीले बताइन् ।
मानव अधिकार निगरानी समूह लुम्लेसमक्ष परिचय पत्र बनाइदिनको लागि पहल गरिदिन अपाङ्गता भएका व्यक्तिहरूका परिवारका सदस्यले अनुरोध गरेपछि इएलपी कास्की सहजकर्ताको सक्रियतामा परियचपत्र बनाउन पहल गरिएको थियो ।
अहिलेको अवस्थासम्म पनि अपाङ्गताको परिचय पत्र बनाउनु पर्दछ भन्ने सचेतना गाउँसम्म नपुग्नु दुखदः विषय भएको लुम्लेका समाजसेवी दुर्गाबहादुर क्षेत्रीले बताए ।