आठविसकोट नगरपालिका –९ राँगीलाका ७५ वर्षीय ज्येष्ठ नागरिक नरबिरे बुढाको १५ महिनाको सामाजिक सुरक्षा भत्ता वडा अध्यक्षद्वारा हिमामिना गरेको पीडितका नाति मिलन बुढाले आरोप लगाउनु भएको छ । गएको एक वर्ष यता ज्येष्ठ नागरिक नरबिरेले सामाजिक सुरक्षा भत्ता नपाएपछि खोजी गर्दा हिनामिना गरेको पाइएको हो ।
आफ्नो गाउँका अरु जेष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता नियमित पाइरहेपछि बैङ्कमा बुझ्न जाँदा नरबिरेको नामको ६१ हजार रुपियाँ वडाले बैङ्कबाट निकालेर लगिसकेको जानकारी भएको नरबिरेका नाति बुढाले बताए । बैङ्क बाट पैसा निकालेको थाहा पाएपछि वडामा गएर वडा सचिवलाई बुझ्दा आठविसकोट नगरपालिका–१ वडाअध्यक्ष देवबहादुर घर्ती ले चलाएको र छिटै उपलब्ध गराउने भने पनि हालसम्म भत्ता उपलब्ध नगराइ उल्टै धम्की दिने गरेको उहाँको भनाइ छ ।
बाजे बिरामी भएपछि गाउँबाट बोकेर आठवीसकोट राडि स्थित नगर अस्पताल लगेको र बाजेको खाता रहेको प्रभु बैङ्कमा गएर बुझ्दा भत्ता झिकीसकेको पाइएको छ । बाजेको उपचार त्यहाँ सम्भव नभएपछि ऋण लिएर उपचारको लागि नेपालगंज लगेको र त्यहाँबाट फर्केपछि बुझदै जाँदा एक वर्ष अगाडि देखिको नरबिरेको नामको रुपियाँ वडाध्यक्ष घर्तिले चलाएको पाइएको हो ।
घरको आर्थिक स्थिति राम्रो नभएको र त्यहि भत्ताको भरमा बाजेको उपचार गर्ने गरेको छ । विगत एकवर्ष यताको पैसा नपाउँदा आफूहरु मर्कामा परेको पीडितकाे गुनासाे छ । वडाअध्यक्ष घर्तिले ०८० वैशाख १ गते भित्र आफुले चलाएको ज्येष्ठ नागरिकको भत्ता उपलब्ध गराउने भनेपनि हालसम्म पनि उपलब्ध नगराएको पीडितका नाति बुढाले बताउनुभयो ।