काठमाडौँ महानगरपालिका–६, सरस्वतिनगरमा ३५ वर्षीया निरा पाण्डे आचार्यको ०८० वैशाख ७ गते हत्या गरेको आरोपमा प्रहरीले झापाको मेची नगरपालिका-१० धुलाबारी घर भइ हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थली बस्दै आएका ३५ वर्षीय विनोद बिकलाई वैशाख १६ गते बिर्तामोडबाट गिरफ्तार गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले वैशाख १७ गते महाराजगंजमा पत्रकार सम्मेलन गर्दै घटनामा संलग्न आरोपित बिनोद विश्वकर्मालाई सार्वजनिक गरेको हो ।
सिआइबीका अनुसार साथीको कोठामा बसेका विनोद वैशाख ७ गते दिउँसो सरस्वतीनगरस्थित निरुको पसलमा भाँडा किन्ने बाहनामा लुटपाटको उदेश्यले छिरेका थिए ।
निरुले भाँडा देखाउने क्रममा विश्वकर्माले पसलकै चक्कुले निरुलाई शरीरको पछाडिबाट छुरा प्रहार गरी हत्या गरेर सुनको सिक्री, गहना र पसलमा भएको १२ हजार रुपियाँ नगद लिएर त्यहाँबाट भागेका थिए ।
आरोपित बिकले निरुको शरीरबाट लुटेको सिक्री वैशाख ८ गते बालाजुको एक सुन पसलमा ५५ हजार रुपियाँमा बिक्री गरेका थिए ।
बिक त्यसपछि ६ दिन लोकन्थलीस्थित साथीको कोठामा बसेर वैशाख १३ गते झापा पुगेका थिए । घटनापछि फरार रहेका बिकलाई प्रहरीले सिसिटिभी फुटेजको सहायतामा अनुसन्धान गर्दै खोजि गरिरहेका थिए ।
आअरोपित बिक फरार रहेकै अवस्थामा जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा वैशाख १६ गते बिर्तामोडस्थित ईलाम बसपार्कबाट गिरफ्तार गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता डिएसपी संजय सिंह थापाले जानकारी दिनुभयो ।
ब्युरोले घटनाबारे थप अनुसन्धान गरिरहेको डिएसपी थापाले बताउनु भयो ।