INSEC Online

📅 २०८३ जेष्ठ २१

लुम्बिनी प्रदेशमा औलो रोग निवारण चुनौती बन्दै

लुम्बिनी प्रदेशमा औलो रोग निवारणमा चुनौती बन्दै गएको छ ।  नेपालमा सन् २०२२ देखि २०२५ सम्म अर्थात आगामी तीन वर्षभित्र औलो निवारण गर्ने सरकारको लक्ष्य रहेको छ । औलो निवारण हुनका लागि स्थानीय स्तरमा औलो बिरामीको संख्या शून्य हुनुपर्छ । सरकारको शून्यमा झार्ने लक्ष्य रहेपनि यही अवस्थामा शुन्यमा झार्न निकै चुनौतीपूर्ण देखिन्छ ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सरकारले सन् २०२२ देखि २०२५ सम्ममा औलोका बिरामी शुल्यमा झार्ने लक्ष्यका साथ अगाडि बढेको भनेपनि लुम्बिनी प्रदेशमा छिमेकी देशबाट आयातित औलोको बिरामीको संख्या घट्न नसक्दा चुनौती थपिएको हो ।

स्थानीय औलोका बिरामीको सङ्ख्या घटेपनि भारतबाट आयातीत औलोको बिरामीको सङ्ख्यालाई कम गर्न चुनौती रहेको लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. बिनोदकुमार गिरीले बताउनु भयो ।

डा. गिरीका अनुसार यस आर्थिक वर्षमा लुम्बिनी प्रदेशमा १ सय ४० जना औलाको बिरामी मध्ये आठ जना मात्र स्थानीय औलो बिरामीको सङ्ख्या रहेको र बाँकी १ सय ३२ जना खुल्ला सिमाबाट प्रवेश गरेका बिरामी रहेको बताउनु भयो ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक रामजन्म कुर्मीले सन् २०२५ सम्म औलो रोगका बिरामीको सङ्ख्या शुन्यमा झार्ने लक्ष्यका साथ अगाडी बढेको बताउदै बिगतको तुलनामा औलोका कारण मृत्यु हुने सङ्ख्या घटेको बताउनु भयो ।

नेपालमा सन् २०१६ मा २४ जनाको मृत्यु भएको थियो भने सन् २०२१ मा १ जनाको मात्र मृत्यु भएको थियो । त्यसपछि हालसम्म औलोका कारण कुनै पनि बिरामीको मृत्यु नभएको स्वास्थ्य निर्देशनालय लुम्बिनीले जनाएको छ ।

‘नेपालमा औलो रोगबाट हुने मृत्य शुन्यमा झारेका छौं’ निमित्त निर्देशक कुर्मीले भन्नुभयो ‘आगामी तीन वर्ष भित्र औलो बिरामीको सङ्ख्यालाई पनि शुन्यमा झार्नेछौं ।’ यो विषयमा स्वास्थ्य मन्त्रालय सम्वेदनशिल भएर लागेको बताउनु भयो ।

‘शून्य औलो अबको थालनी, नवीनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नाराका साथ वैशाख १२ र १३ गते विश्व औलो दिवस मनाइएको छ । आ.व. २०७९÷०८० मा लुम्बिनी प्रदेशमा औलोको बिरामी सबै भन्दा धेरै भेटिएको छ ।

जसअनुसार कर्णाली प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा १९ जना, बागमती प्रदेशमा २७ जना, मधेश प्रदेशमा ४४ जना र कोशी प्रदेशमा १२ जना औलोका बिरामी फेला परेका छन् । लुम्बिनी प्रदेशभित्रका १२ वटै जिल्लामा औलोका बिरामी भेटिएका छन् ।

लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै १ सय ४० जना औलोका बिरामी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका फोकल पर्सन खिमलाल पाण्डेले बताउनु भयो । प्रदेशको सबै भन्दा धेरै बाँकेमा ९३ जना औलोका बिरामी रहेका छन् ।

बाँकेको ‘नरैनापुरमा औलाका बिरामीको संख्या अनुसार उच्च जोखीममा रहेको छ’ ‘वडा नं ३ लाई उच्च जोखिममा राखेर यसको निवारणमा लागेका छौं ।’ दोस्रोमा कपिलवस्तुमा १२ जना, बर्दियामा चार जना, दाङमा चार जना, रुकुम पूर्वमा एक, रोल्पामा एक, प्युठानमा तीन, अर्घाखाँचीमा एक, गुल्मीमा दुई, रुपन्देहीमा आठ, पाल्पामा पाँच, नवलपरासी पश्चिममा ६ जना बिरामी फेला परेका छन् ।

औलो रोग विशेषगरी एनोफिलिज जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाईबाट सर्ने स्वास्थ्य निर्देशनालय जनाएको छ ।

नेपालमा मुख्यगरी औलोको दुई किसिमका परजीवीहरू पाइने गरेको छ । ती मध्ये प्लाज्मोडियम फाल्सिपारम र प्लाज्मोडियम भाइसेक्स हुन् । यी दुईमध्ये प्लाज्मोडियम फाल्सिपारमले गराउने औलो रोग बढी जटिल र जोखिमयुक्त हुने चिकित्सकहरू बताउँछन् ।

अन्य

भिडियो