INSEC Online

📅 २०८३ जेष्ठ २२

स्वास्थ्यचौकीको भवन अलपत्र हुँदा स्थानीयलाई सास्ती

काठेखोला गाउँपालिका–२ भिमापोखरामा स्वास्थ्य चौकीको भवन निर्माण सुरू गरिएको पाँच वर्ष पुग्दा पनि नबनेर अलपत्र अवस्थामा रहेकोले स्थानीयलाई सास्ती भएको छ ।

स्थानीयलाई सहज स्वास्थ्य सेवा प्रदान गर्ने गरी स्वास्थ्यचौकीको भवन निर्माण सुरू गरिएको थियो । स्वास्थ्य सेवाप्रदान गरिरहेको भवन पुरानो र जीर्ण भएपछि २०७५ सालमा भिमापोखरा स्वास्थ्यचौकीको नयाँ भवन निर्माणको काम सुरू गरिएको थियो ।

यस विचमा कतिओटा निर्माण कम्पनी परिर्वतन भए र उनिहरू कुन–कुन हुन् भन्ने समेत नत स्थानीयलाई जानकारी छ, न स्थानीय सरकारलाई  । निर्माणाधिन स्वास्थ्यचौकी भवनमा ताला लागेको एक वर्ष पुग्यो ।

बन्दै गरेको भवनको प्लास्टर उप्किसकेको छ । विध्युतीय संरचना समेत तोडफोड भएका छन् । निर्माणाधिन भवनमा कस्ले ताला लगाएको हो भन्ने विषयमा समेत स्वास्थ्यचौकी र स्थानीय जनप्रतिनिधि अनविज्ञ रहेका छन् ।

स्वास्थ्यचौकीमा रङ्ग रोगन गरेपनि च्यानल गेट, तारबार, झ्याल र सिसाको काम अझै बाँकी रहेको काठेखोला गाउँपालिका–२ भिमापोखराका वडाअध्यक्ष विद्यापती शर्माले बताउनुभयो ।

‘वर्षायाममा पुरानो भवनभित्र पानी चुहिन्छ, कितबेला भवितव्य हुने हो यहाँका स्वास्थ्यकर्मीले डराएर काम गर्नुपर्छ,’ स्थानीय भक्तिनाथ गौतमले भन्नुभयो, ‘स्वास्थ्यचौकीको भवनआफै विरामी छ, नयाँ बन्दाबन्दै चापी लगाइएको छ, भवन निर्माणको काम पुरा भइदिए स्वास्थ्य सेवा प्रवाह गर्ने र लिने सबैलाई सहज हुने थियो ।’ भवन अलपत्र भएपछि पुरानो भवनबाट स्वास्थ्य सेवा लिनदिन सास्ती भएको छ ।

स्वास्थ्य संस्थाको गतिलो भवन नहुँदा विरामीहरू घामपानी सहेर पुरानो भवन बाहिर पालो पर्खनु पर्ने बाध्यता रहेको स्थानीय राधीका केसीको भनाई छ । ‘बालबालिकालाई खोप लागाउन आउनेहरू चर्काे घाममा बस्नुपर्छ, वर्षायाममा पानीमा भिज्नुपर्छ, ज्येष्ठ नागरिक तथा असक्तलाई बस्नुस भन्ने ठाउँ छैन्, स्वास्थ्यकर्मीले उभिएरै उपचार गर्नुपर्छ,’ केसीले भन्नुभयो ‘भवन बनेर पनि पूर्णभएर हस्तान्तरण नहुँदा स्वास्थ्यकर्मी र स्थानीयलाई सास्ती भएको छ ।’

भवन हस्तान्तरण नहुँदा पुरानै भवनबाट सेवा दिन बाध्य भएको स्वास्थ्य चौकीका इन्चार्ज आषिस सापकोटा बताउनु हुन्छ । ‘वर्षा लाग्दा साथ पुरानो भवनमा उपचारको लागि आउने बिरामीको संख्या घट्छ, हामिले पनि जोखिम मोलेर कामगर्दै आएका छौं,’ सापकोटा भन्नुहुन्छ ‘दरबन्दी अनुसारका स्वास्थ्यकर्मी छैनन्, भवनको हाल यस्तो छ, नयाँ बनेको अलपत्र छ कसरी सेवा प्रवाहगर्ने ।’

सापकोटाका अनुसार ६ जना दरबन्दी रहेको स्वास्थ्यचौकीमा अहिले तीन जनामात्रै कार्यरत रहेका छन् ।

तीन करोड लागतमा सङ्घीय सरकारको बजेटमा गुणस्तरीय स्वास्थ्य सेवा दिनेगरी भवन निर्माण गरिएको हो । काम गर्दागर्दै ठेकेदारले बिचैमा छोडेपछि बजेट समेत गत असारमै फ्रिजभएको काठेखोला गाउँपालिकाका इन्जिनियर विनोद लामिछाने बताउनुभयो ।

बैंक धरौटी रकमबाटै भएपनि भवन मर्मत गरेर स्वास्थ्य सेवादिने तयारी गरिरेहको भन्दै उहाँले भवन निर्माणमा देखिएका समस्या सच्चाउने र बैंक धरौटी रकम कटौती गर्न पालिका पछि नपर्ने बताउनुभयो ।

लामिछानेका अनुसार स्वास्थ्यचौकीको भवन तत्कालै सेवा दिनेगरी गाउँपालिकाले कदम चाल्ने जानकारी दिनुभयो । स्वास्थ्यचौकी भवन निर्माणमा केही समस्या देखिएको बताउदै लामिछानेले निर्माण व्यवसायीसंग परामर्श गरेर भवन निर्माणमा देखिएको त्रुटी सच्याएर भवन हस्तान्तरण गर्ने बताउनुभयो ।

अन्य

भिडियो