१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ हाडाकोटका २८ वर्षीय भूपेन्द्र शाहीलाई दैलेख जिल्ला अदालतले वैशाख १४ गते १३ वर्ष कैदको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले शाहीलाई बलात्कार कसुरमा १३ वर्ष कैदका अलवा पीडितलाई ५० हजार रुपियाँ क्षतिपूर्ति र पीडित राहतकोषमा २ हजार २ सय रुपियाँ तिर्नुपर्ने फैसला भएको अदालतका सूचना अधिकारी नासु टिकाराम न्यौपानेले जानकारी दिनुभयो ।
०७७ चैत १९ गते राति एउटा विद्यालयको हाता भित्र बलात्कार गरेको भन्दै पीडित पक्षले चैत २७ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा दिएको उजुरीको आधारमा प्रहरीले गिरफ्तार गरेको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण दैलेख जिल्ला अस्पतालमा चैत २७ गते नै भयो ।
प्रहरी अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय दैलेखले ०७८ वैशाख २१ गते दैलेख जिल्ला अदालतमा बलात्कार मुद्दाको अभियोग दर्ता गराएको थियो ।
अभियोग दर्ता भएकै दिन दैलेख जिल्ला अदालतमा भएको मुद्दाको थुनछेक बहसपछि तत्कालिन जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट आरोपितलाई थुनामा राख्ने आदेश भएको थियो ।