दुहुँ गाउँपालिकामा निर्माण गरिएको बहुउद्देश्यीय झोलुङ्गे पुल र अपिहिमाल गाउँपालिकामा निर्माण गरिएको सिद्ध मकरिकोट पदमार्ग निर्माणमा संलग्न मजदुरले काम गरेको ज्याला दुई वर्ष बितिसक्दा पनि पाउन नसकेपछि मजदुर आन्दोलित भएका छन् ।
काम गरेको ज्याला नपाएपछि दुहुँका मजदुरले वैशाख ८ गतेदेखि झोलुङ्गे पुल बन्द गरेर विरोध जनाउँदै आउनु भएको छ । दुहुँ गाउँपालिकाको वडा नम्बर १, २ र ५ का स्थानीयले पुल निर्माणका क्रममा ज्याला मजदुरी गर्नु भएको थियो ।
धेरै प्रयास गर्दा समेत ज्याला नपाएको भन्दै पुलको दुवैतिर तारजालीलगायत जस्तापाताले बार लगाएर बन्द गरेका हुन् । पुल बन्द भएपछि जिल्ला सदरमुकाम खलंगा आउने र काम विशेषले गाउँपालिकाको कार्यालयसम्म जाने नागरिकलाई दुई घण्टा लामो सडकको बाटो भएर हिँड्नु पर्ने बाध्यता सृजना भएको छ ।
स्थानीय श्रमिक, पसलधनी र ट्याक्टर व्यवसायीले बेला–बेला गाउँपालिकाको न्यायिक समिति र जिल्ला प्रशासन कार्यालय, दार्चुलामा हारगुहार गर्दा पनि निकास नआएपछि पुल बन्द गरेर विरोध गर्नु परेको स्थानीय नरेन्द्र जोशीले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘यो हाम्रो सांकेतिक विरोध हो । अझै पनि हाम्रो माग सुनुवाई नभए सशक्त आन्दोलन गछौँ ।’
निर्माण व्यवसायी, प्रशासन र गाउँपालिकाले स्थानीयले भोग्नुपरेको समस्या समाधान गर्न नसकेकै कारण पुल बन्द गर्नुपरेको स्थानीय रमेश जोशीले बताउनु भयो ।
अपिहिमाल गाउँपालिका वडा नम्बर ३, ४ का स्थानीयले समेत नेपालकै लामो पदमार्ग निर्माण गर्दा पाउनु पर्ने रकम नपाएको गुनासो गरेका छन् ।
अपिहिमाल गाउँपालिका–४ का सुशिल रोकायाले भन्नु भयो– ‘बाटो बन्यो, गाउँपालिकाको हाइहाई भयो । तर, हामीले कामगरेको ज्याला रकम कहिले पाउने हो ?’ आफूहरुको श्रम गरेको रकम नदिए बाटो भत्काइदिने स्थानीयको चेतावनी छ । अपिहिमाल गाउँपालिकामा काम गरेका मजदुरको गाउँपालिकाले बजेट भुक्तानी गरे पनि ठेकेदारले नदिएको उहाँहरुको गुनासो छ । स्थानीय श्रमिकको लाखौँ रकम तिर्नु पर्ने देखिएको रोकाया बताउँनु हुन्छ् ।
दुहुँमा निर्माणको जिम्मेवारी पाएको जगदम्बा दोभान कन्स्ट्रक्सनले श्रमिकहरूको ज्याला दुई वर्ष बित्दासमेत भुक्तानी गरेको छैन् ।
निर्माण कम्पनीले काम गरेबापतको अन्तिम चरणको भुक्तानी नलिएको दुहुँ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरसिंह धामीले जानकारी दिनु भयो ।
उहाँले भन्नु भयो– ‘पुलमा लठ्ठा कस्ने र लोड टेस्ट गर्ने काम समेत नगरेरै ठेकेदार सम्पर्कविहीन हुनु भएको छ ।’ गाउँपालिकाबाट ५० लाख रुपियाँ जति भुक्तानी गर्न बाँकी छ । स्थानीयको मात्रै ३० देखि ३५ लाख रुपियाँ तिर्न बाँकी छ भन्ने गुनासो आएको उहाँले बताउनु भयो । मजदुरसँगै स्थानीय पसलले र ट्याक्टर व्यवसायीको पनि निर्माण व्यवसायीले रकम नदिएको पाइएको छ ।
स्थानीयको गुनासो आएपछि ठेकेदारसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसकेको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिनु भयो । ‘दुई महिना पहिले एक पटक ठेकेदार सम्पर्कमा आएर तिर्न बाँकी पैसा छिट्टै तिर्ने सम्झौता गरेको रहेछ,’ जोशीले भन्नु भयो, ‘त्यसपछि ठेकेदार फोन स्विच अफ गरेर सम्पर्कविहीन हुनु हुन्छ ।’
दुहुँ गाउँपालिकाका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडालले स्थानीयहरूले श्रम गरेबापतको ज्याला नपाएको गुनासो गर्नु भएकोले निर्माण व्यावसायीसँग सम्पर्क गर्ने प्रयास गरिरहेको र आवश्यक कारवाहीको लागि प्रशासनसँग सहयोग मागेको बताउनु भयो ।
