INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यार्थी कुटपिट आरोपमा १३ जना गिरफ्तार

मिक्लाजुङ्ग गाउँपालिका–३ की १४ वर्षीया बालिकालाई वैशाख ६ गते कुटपिट गरेको आरोपमा प्रहरीले १३ जनालाई बालिकालाई गिरफ्तार गरेको छ ।

गिरफ्तारमा पर्नेमा कक्षा ८ देखि कक्षा १० मा अध्ययनरत १३ देखि १६ वर्ष उमेरसमूहका छात्रा छन् ।

मिक्लाजुङ्ग गाउँपालिका–३ धोवेनीस्थित कालिका सामुदायिक माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत बालिकालाई ०८० वैशाख ६ गते सोही विद्यालयमा कक्षा ८ देखि १० सम्म पढ्ने १३ जना बालिकाले कक्षा कोठामा बन्धक बनाइ निर्घात कुटपिट गरेका थिए ।

केटा साथी र परिवारको विषयलाई लिएर बालिकालाई १३ जनाले निर्घात कुटपिट गरेको आरोपमा पीडित बालिकाकी ३२ वर्षीया आमाले वैशाख ११ गते आरोपितहरू विरूद्ध इलाका प्रहरी कार्यालय उर्लावारीमा उजुरी दिनु भएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले वैशाख ११ गते अनुसन्धानका लागि गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय उर्लावारीका इन्स्पेक्टर वविन्द्र नेम्वाङ्गले बताउनु भयो ।

विद्यालयमा भर्ना अभियान चलिरहेको र पाठ्यपुस्तक विवरण भइरहेको समयमा पीडित विद्यार्थीलाई आरोपितहरूले कक्षा कोठामा बन्धक बनाएर निर्घात कुटपिट गरेको कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक मात्रिका न्यौपानेले बताउनु भयो ।

वैशाख ६ गते बालिकालाई कुटपिट भएको र बालिकाले विद्यालय नर्ससँग प्राथमिक उपचार गराएको भएपनि नर्सले सोधपुछ गर्दा लडेर घाइते भएको बताएपछि घटना वैशाख ९ गते फेसबुकमार्फत सार्वजनिक भएको थियो ।

कुटपिट गर्ने क्रममा आरोपितहरूले खिचेको भिडियो उनीहरूमध्ये एक जनाले फेसबुकमा अपलोड गरेपछि घटना सार्वजनिक भएको प्रधानाध्यापक न्यौपानेले बताउनु भयो ।

कुटपिटको भिडियो सार्वजनिक भएपछि वैशाख १० गते विद्यालयमा तनाव सिर्जना भएको थियो । आक्रोशित भीडले वैशाख १० गते विद्यालयमा तालाबन्दी गरेको थियो ।

विद्यालय व्यवस्थापन समितिका कार्यवहाक अध्यक्ष चन्द्रकुमार सङ्गमी लिम्बू, प्रधानाध्यापक, पीडित पक्ष र स्थानीय अभिभावकको सहमतिमा वैशाख १२ गते तालाबन्दी खोलिएको प्रधानाध्यापक न्यौपानेले बताउनु भयो ।

कुटपिटबाट घाइते बालिकाको अनुहार र टाउकोमा चोट लागेको छ ।

घाइते बालिकाको वैशाख १० गतेदेखि झापाको विर्तामोडस्थित बि एण्ड सी अस्पतालमा उपचार भइ रहेको छ ।

अन्य

भिडियो