राष्ट्रिय मानव अधिकार आयोग र इन्सेक बागमती प्रदेश कार्यलयको संयुक्त टोलीले चितवन जिल्लाको निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचनको मानव अधिकारको दृष्टिकोणबाट ०८० वैशाख ८ गते पर्यवेक्षण तथा अनुगमन भएको छ ।

अनुगमनका क्रममा टोलीले मुख्य निर्वाचन अधिकृत लगायतसँग निश्पक्ष र भयरहित निर्वाचनको सुनिश्चितताका लागि छलफल गरेको छ ।
साथै आयोग र इन्सेकको टोलीले स्वच्छ निर्वाचन तथा अभिव्यक्ति स्वतन्त्रताका सम्बन्धमा नेपाल पत्रकार महासङ्घ र चितवनका प्रतिनिधि क्रियाशील पत्रकारहरूसँग छलफल तथा अन्तरक्रिया गरेको राष्ट्रिय मानव अधिकार आयोगका माननीय सदस्य मिहिर ठाकुरले जानकारी दिनुभयो ।

उक्त अन्तरक्रिया कार्यक्रममा आयोगका माननीय सदस्य मिहिर ठाकुर, इन्सेकका संस्थापक अध्यक्ष तथा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त सुशील प्याकुरेल, पत्रकार महासङ्घ चितवनका सभापति नारायण अधिकारी, आयोगको बागमती कार्यालय प्रमुख यज्ञ अधिकारी, इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारी, जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारी, आयोगको केन्द्रीय तथा प्रदेश कार्यालयका कर्मचारीहरूको सहभागिता रहेको थियो ।
टोलिले चितवनको निर्वाचन क्षेत्र नं. २ अन्तर्गतका मतदान स्थलको मतदान केन्द्रहरूमा भएको मतदान कार्यको पर्यवेक्षण गरेको हो ।
पर्यवेक्षणका क्रममा सबै स्थानहरूमा शान्त वातावरण भएको पाइएको राष्ट्रिय मानव अधिकार आयोगको बागमती कार्यालय प्रमुख यज्ञ अधिकारीले बताउनु भयो ।
