पोखरा-लेखनाथ मनपा-३३ भरतपोखरी बाघमारा स्थित मर्निङ ग्लोरी स्कूलमा कक्षा १ मा अध्ययनरत बालक सुवास लामिछानेलाई गृहकार्य नगरेको आरोपमा विद्यालयका प्रधानाध्यापक शिवदत्त तिवारीले जेठ २९ गते कुटपिट गरेका छन् ।
कापी जाँच्ने क्रममा गृहकार्य नभेटेपछि कक्षा शिक्षिकाले प्रधानाध्यापकलाई बोलाएको र प्रधानाध्यापकले बालकलाई निर्घात कुटपिट गरेको पीडित पक्षको आरोप छ ।
कुटपिटबाट बालकको ढाडमा निलडाम बसेको पाइएपछि बालकको उपचार पोखराको विरौटा स्थित नमस्ते अस्पतालमा जेठ २९ गते नै गरिएको थियो ।
सो घटना पश्चात् सोही दिन आरोपित पक्ष, पीडित विद्यार्थीका अभिभावक र पीडित विद्यार्थी सहितको टोलीले वडा कार्यलयमा छलफल गरी घटना ठूलो बनाउन नहुने भन्दै घटनालाई मिलाइएको स्थानीय तिलक लामिछानेले बताए ।
सो घटनाको विरोध गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले प्रेस विज्ञप्तिमार्फत दोषी उपर कारबाहीको माग गरेको थियो ।