
जनकपुरधाम उपमहानागरपालिका–२० देवपुरा रुपैठाकी २८ वर्षीया श्वेता झालाई पति ३५ वर्षीय राजिव झा, सासु ५१ वर्षीया द्रोपदी झा र देवर २८ वर्षीया कमलेश झाले वैशाख १ गते थप दाइजो माग गर्दै कुटपिट गर्नुका साथै आगो लगाइ हत्या गर्ने प्रयास गरेको भन्दै पीडित पक्षले जिल्ल प्रहरी कार्यालयमा वैशाख ८ गते उजुरी दिएको छ ।
पीडित पक्षले आरोपितहरूविरुद्ध उजुरी दिएको अधिवक्ता राहुल झाले बताउनु भयो । जिल्ला प्रहरी कार्यालयका डिएसपी बेदप्रसाद गौतमले पीडित पक्षबाट उजुरी आएकोले घटनाको अनुसन्धान गरी रहेको बताउनु भयो ।
यसैबिच पीडितको स्वास्थ्य अवस्था र घटना बारे बुझ्न अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश संयोजक राजु पासवान र प्रलेख अधिकृत मोहनकुमार चौधरी वैशाख ८ गते जनकपुरधामस्थित प्रादेशिक अस्पताल पुगेका थिए ।

भारत विहार राज्यको ग्राम पञ्चायत कोठिया थाना कम्तौल जिल्ला दरभङ्गा माइत भएकी श्वेता झा र जनकपुरधाम उपमहानागरपालिकाका राजिव झाबिच १० वर्ष अगाडि विवाह भएको थियो । विवाहमा आठ आना सुन, २ लाख भारतीय रुपियाँ र एक थान मोटरसाइकल दाइजो दिएको भएतापनि ज्वाइले छोरीलाई थप दाइजो बापत तीन तोला सुनको माग गर्दै कुटपित तथा शारीरिक र मानसिक यातना दिनुका साथै छोरीलाई आगो लगाइ हत्या गर्ने प्रयास गरेको पीडितको बुबा जयकुमार झाले इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानलाई बताउनु भयो ।
आरोपित झा लगायत परिवारका सदस्यहरुले दाइजोको निहुँमा कुटपिट गर्नुका साथै शरीरमा आगो लगाइ हत्या प्रयास गरेको पीडितले बताउनु भयो ।
घाइते भएपछि उपचारमा समेत लापरवाही गरेपछि घटना सार्वजनिक नगर्ने शर्तमा ससुराले जानकी हेल्थ केयरमा घटनाको दुई घण्टा पश्चात भर्ना गरेको पीडितले दुःखेसो पोखिन् । माइती पक्षले वैशाख ६ गते प्रादेशिक अस्पतालमा भर्ना गरी उपचार गराइरहेको पीडितले जानकारी दिनु भयो ।
अस्पतालका चिकित्सक अमलेशकुमार सिंहले पीडितको शरीरका ३८ प्रतिशत भाग जलेको र पीडितको स्वस्थ्य अवस्थामा सुधार आइरहेको बताउनु भयो । पीडितको छाती भन्दा तलको भाग र दाहिने खुट्टा जलेको उहाँले जानकारी दिनु भयो ।