सल्यान जिल्लामा विकास निर्माणका काममा उपभोक्ता समितिदेखि कामदारसम्म महिला सहभागिता बढेको छ । गाउँमा पुरुषको उपस्थिति कम भएपछि उपभोक्ता समितिदेखि विकास निर्माण कार्यमा महिलाहरू मात्रै हुने गरेका हुन् । गाउँघरमा भइरहेका प्रायः सबै समितिका सदस्य र कामदार महिलाहरू मात्रै भेटिन्छन् । पुरुष रोजगारी र अध्ययनका लागि बाहिर गएपछि गाउँको विकासलाई महिलाहरूले अघि बढाएका हुन् । स्थानीय तहले तय गरेका विकास निर्माणका काम र प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा पनि प्रायः महिलाहरू छनोट भएका छन् ।
महिलाहरुले चुलोचौको हुँदै घरायसी काम मात्रै गर्नुपर्ने र विकास निर्माणका कार्यहरुमा पुरुषहरु मात्रै सक्रिय भएर लाग्ने पुरानो अवस्था अहिले छैन । अहिले गाउँका विकासमा महिलाहरु सक्रिय भएका छन् । विकासमा महिलाहरुलाई नामका लागि मात्रै सहभागि बनाउने र अन्य सबै काम पुरुषले गर्ने परिपाटीको पनि महिलाहरुले अन्त्य गरेका छन । एकातिर पुरुषहरु गाउँघरमा कम हुने र अर्कोतिर महिलाले पनि विकास निर्माणमा काम गरेर देखाउने अवसरका रुपमा सल्यानका महिलाहरुले विकासमा नेतृत्व लिन थालेको उनीहरु बताउँछन् ।
सल्यानको कालीमाटी गाउँपालिका–७ र्याङमा मन्दिर निर्माणका लागि गाउँपालिकाबाट तीन लाख रुपैयाँ विनियोजन भयो । मन्दिर निर्माणको लागि स्थानीय पवित्रा पुन आफै उपभोक्ता समितिको अध्यक्ष हुनुभयो । महिलाहरुको सक्रियतामा उपभोक्ता समितिको अध्यक्ष, सचिव, कोषाध्यक्षसँगै सबै पदमा महिलालाई सहभागी बनाएर मन्दिर निर्माण गरिएको छ ।
आँट गरेर विकास निर्माणका काममा नेतृत्व लिन थालेको र समस्या पनि खासै नभएको अध्यक्ष पुनले बताउनुभयो । ‘समाजमा हुने विकास निर्माणका कार्यहरुको महिलाले नै जिम्मेवारी लिएर पूरा गर्न सक्छन्, बिहान साँझ घरको काम गर्यो , दिनभर विकासको काममा सक्रिय भएर लाग्यो’– पुनले भन्नुभयो ।
शारदा नगरपालिका–१० मा गोरेटो बाटो बनाउन प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत ५ लाख ७७ हजार रुपियाँ विनियोजन भयो । पैयाँखर्कदेखि पैयाँखर्क मसानघाटसम्म जाने बाटोको स्तरोन्नतिमा पनि महिला सहभागिता धेरै छ । बाटो बनाउने काममा अहिले आठजना महिला हुँदा पुरुष दुईजना मात्रै छन् ।
वडाअध्यक्ष कृष्णबहादुर बोहराले पछिल्लो समय विकासमा महिलाको सहभागिता बढेको बताउनुभयो ।‘पुरुषहरु रोजगारीको लागि होस् या अन्य कामको लागि बाहिरै जान्छन्, गाउँमा महिलाको संख्या धेरै छ, बिहानसाँझ घरायसी काम गर्ने महिलाहरु दिउँसोको समयमा विकासका काममा जोडिएका छन’– उहाँले भन्नुभयो । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमले महिलालाई विकासमा जोडेको उहाँको भनाइ छ ।
उनीहरुले एक सय दिनको रोजगारी पाउँछन् । सुख्खायाममा खेतीपाती पनि राम्रो नहुने भएपछि फुर्सदिला बनेका महिलाहरु विकास निर्माणका काममा एकजुट भएका छन् ।
