INSEC Online

📅 २०८३ जेष्ठ २१

दलितको शवलाई सार्वजनिक बाटोमा बोक्न रोक, घटनाको छानविन गरी कारवाही गर्न पत्राचार

दलित समुदायको शवलाई सार्वजनिक बाटोबाट घाटमा लैजान रोक लगाएको भन्दै राष्ट्रिय दलित आयोगले जिल्ला प्रशासन कार्यालय हुम्लालाई घटनाको छानविन गरी कारवाही गर्न पत्राचार गरेको छ ।

चंखेली गाउँपालिका–४ मा ०७९ चैत १९ गते सोही वडाका ७४ वर्षीय पदमबिरे लुवारको शवलाई सार्वजनिक बाटोमा लैजान खोज्दा चंखेली गाउँपालिका–४ का ठकुरी समुदायले रोक लगाएपछि मृतकका छोरा कर्णबिर लुवारले सोही दिन इन्सेक र राष्ट्रिय दलित आयोगलाई मौखिक उजुरी गर्नु भएको थियो ।

पीडितको मौखिक उजुरीका आधारमा इन्सेकले गत चैत २५ गते राष्ट्रिय दलित आयोगसँग समन्वय गरेपछि आयोगले चैत २६ गते घटनामा संलग्न पक्षलाई कारवाही हुनु पर्ने भन्दै जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गराएको थियो ।

जिल्ला प्रशासन कार्यालयले घटनाको छानविनका लागि वैशाख ४ गते चंखेली गाउँपालिका कार्यालयलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताउनु भएको छ ।

सार्वजनिक बाटोबाट घाटसम्म शव लैजान  नदिएको मृतकका छोरा कर्णबिर लुवारले गुनासो गरेपछि राष्ट्रिय दलित आयोगले सो घटनाको विषयमा छानविन गरी  दोषीमाथि कडा कारवाही गर्न भनेको हो ।

घटनाको सत्यतथ्य बुझ्नका लागि चंखेली गाउँपालिका कार्यालयलाई पत्रचार गरेको र गाउँपालिकाकाले के जबाफ  दिन्छ सोही अनुसार मात्रै घटनामा संलग्न व्यक्तिहरूलाई कारवाहीको प्रक्रिया अघि बढाउने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भएको छ ।

 photo20230418humla

 

अन्य

भिडियो